१४ बैशाख २०८१, शुक्रबार

दुई हप्तादेखि रुसी सैनिकको घेराबन्दीमा मारिओपोल सहर, भाग्न थाले यूक्रेनी जनता

kiv

रुसले युक्रेनमा अझै पनि निरन्तर आक्रमण गरिरहेको छ । केहि प्रमुख सहरमा कब्जा जमाएको रुसले राजधानी किभमा भने नियन्त्रण जमाउन सकेको छैन् । तर, मानविय संकट विकराल बन्दै गएको छ ।
घेराबन्दीमा परेको युक्रेनी सहर मारिओपोललाई आत्मसमर्पण गर्न रुसले अल्टिमेटमसहित चेतावनी दिएको छ ।

आत्मसमर्पण गरेमा फसेका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा जानका लागि मानवीय सहायता मार्ग खुला गर्ने रुसी रक्षा मन्त्रालयले जनाएको छ । तर युक्रेनले भने रुसको यो प्रस्ताव अस्वीकार गरेको छ । युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेस्चुकले आफ्ना सैनिकले हतियार त्याग्ने र आत्मसमर्पणका कुरै नउठ्ने बताएकी छिन ।

रुसले आत्मसमर्पण गर्न नमानेमा ‘सैन्य कारबाही’ भोग्नु पर्ने चेतावनी दिएको छ । मारिओपोल सहर गएको दुई हप्तादेखि रुसी सैनिकको घेराबन्दीमा छ । त्यहाँ विद्युत्, पानी तथा ग्यासको आपूर्ति हुन सकेको छैन भने त्यहाँ झण्डै तीन लाख मानिस फसेका छन् । खाद्यान्न तथा अत्यावश्यक औषधिको अभावका बीच फसेका मानिसहरुको अवस्था नाजुक बन्दै गएको छ ।

रुसको आक्रमणका कारण मारिओपोलका झण्डै ८० प्रतिशत आवासीय भवन ध्वस्त वा क्षतिग्रस्त भएका छन् । एक तिहाइ भवनहरु मर्मत गर्न नमिल्ने अवस्थामा पुगेका छन् । यसैविच, रुसले आक्रमण सुरु गरेपछि युक्रेनमा झन्डै एक करोड जना मानिसले आफ्नो घर छाडेर भागेका छन् ।

संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सीका अनुसार घर छाडेर भागेकामध्ये झन्डै ३४ लाख जना मानिस देशै छाडेर भागेका छन् । देश छाडेर भाग्नेमध्ये झन्डै ९० प्रतिशत महिला तथा बालबालिका रहेका छन् । युक्रेनले १८ देखि ६० वर्ष उमेर समूहका पुरुषलाई भने देश छाडेर भाग्ने अनुमति दिएको छैन ।

यसैबीच, रुसले कब्जा गरेको युक्रेनी सहरहरू खेअर्सन, काखोभका र बर्दियान्स्कका बासिन्दाले आज विरोध प्रदर्शन गरेका छन् । युक्रेनको झन्डासहित हामी युक्रेनी हौँ भन्दै प्रदर्शन गर्ने नागरिकमाथि रुसी सेनाले अवरोध नगरेको बीबीसीले जनाएको छ । जुलुसहरू शान्तिपूर्ण देखिएका छन् ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस पक्षधर ११ राजनीतिक दलको गतिविधिमा प्रतिबन्ध लगाएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले अपोजिशन प्लाटफर्म–फर लाइफ सहितका रुस समर्थित ११ दलका गतिविधिमा प्रतिबन्धको घोषणा गरेका हुन ।

अपोजिशन प्लाटफर्म–फर लाइफले युक्रेनी संसदमा पनि प्रतिनिधित्व गरेको छ । मार्सल कानुन कायम रहँदासम्म प्रतिबन्ध पनि कायम रहने जेलेन्स्कीले बताएका छन । त्यस्तै, अमेरिकी समाचार च्यानल सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले आफ्नो देशमा रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन् ।

जेलेन्स्कीले युद्ध रोक्ने एकमात्र उपाय वार्ता भएको बताएका छन् । उनले वार्ताका लागि कुनै पनि तरिका र सम्भावनाको उपयोग गर्नुपर्ने बताएका छन् । यसअघि रुस र युक्रेनी अधिकारीबीच बेलारुसमा भएको वार्ता निष्कर्षविहीन भएको थियो । अहिले टर्कीले दुवै देशका अधिकारीलाई वार्तामा बसाउने पहल गर्दै आएको छ ।