४ बैशाख २०८१, मंगलवार

लज्जास्पद हार नेपालको यूएईसँग

Nepal

खराव ब्याटिङलाई निरन्तरता दिएपछि नेपाल आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा घरेलु टोली यूएईसँग ९९ रनले पराजित भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सोमबार यूएईले दिएको २०३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा सवै विकेटको क्षतिमा १०३ रनमा समेटियो ।

एकदिवसीय क्रिकेटमा नेपालको यो अहिले सम्मकै कम स्कोरको हार हो । यसअघि एकदिवसीयमा नेपालको सबैभन्दा कम योगफल सन् २०१९ मा यूएईविरुद्धकै पहिलो एकदिवसीय खेलमा एक सय १३ रन थियो । नेपालको ओपनिङ अडर ध्वस्त भएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाउनुभयो ।

आरिफ शेखले र सोमपाल कामीले समान १५/१५ र विनोद भण्डारीले १२ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सक्नुभएन । नेपाललाई सस्तैमा समेट्न यूएईका जुनाइद सिद्दिकीले चार विकेट लिनुभयो । कासिफ दाउद र अहमद राजाले दुई दुई विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय दुई रन बनाएको थियो । यूएईका लागि रोहन मेस्ताफाले सर्वाधिक ६० रन बनाउनुभयो । ओपनर मोहमद वासिमले ३३, चिराग सुरीले २६, वित्य अरवृन्दले २४, अलिसान सर्फुले २१ र बसेल हमिदले १७ रन बनाउनुभयो ।

बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन विकेट लिनभयो । सोमपाल कामी र करण केसीले दुई दुई तथा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले एक एक विकेट झार्नुभयो । यूएईविरुद्ध नेपाली टोलीमा तीन खेलाडी परिवर्तन गरिएको थियो । नेपालले युवा ओपनर आसिफ शेख, तीव्र गतिका बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई आज बेन्चमा राखेको थियो । नेपालले विकेटकिपर विनोद भण्डारी, विक्रम सोब र पवन सरार्फलाई मौका दिएको थियो ।

नेपालले सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई दुई विकेटले हराएको थियो । दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो । यूएईले भने पहिलो खेलमा पीएनजीलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा पीएनजीसँग ६ विकेटले पराजित भएको थियो ।

नेपाल अहिले लिगको ११ खेलमा पाँच जित, ६ हारसहित १० अंक जोड्दै छैटौं स्थानमा छ । १८ खेल सकेको यूएई २२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । सिरिजको अन्तिम खेलमा नेपालले मंगलबार पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ ।