१३ बैशाख २०८१, बिहीबार

अस्ताइन प्रहरी जवान श्रेष्ठ: रोकिएनन आफन्त र सहकर्मीका आँखामा आँसु, श्रीमान भेट्ने धोको अधुरो रर्‍यो

urmila 1

कोसी अस्पताल परिसर अरू दिनझैँ सुनसान थिएन । पुरै शोकमा थियो । त्यहाँ उपस्थित सबैका आँखा रसाएका थिए । प्रहरीको एक टुकडीले शोक धुन बनाइरहेको थियो । त्यही बेला सबैको मन भक्कानियो । कर्तव्यपालनका क्रममा एक राष्ट्रसेवक प्रहरी जवानको शवलाई अन्तिम बिदाइ चल्दै थियो ।

सबै सहकर्मीमा निराशामा मात्र थियो । जसको सुरक्षार्थ खटिएका थिए, उनीहरूकै हातबाट मारिन पुगिन् । अस्पताल परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर राखिरहँदा सहकर्मीहरू मलिन अनुहारमा थिए । जहाँ सन्नाटा छाएको थियो ।

घरपरिवार आफ्नो मान्छे गुमाउँदाको पीडाले छटपटाइरहेका थिए । भावविहोल थिए । त्यहीबीच मोरङको लेटाङमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको पार्थिव शरीरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पुष्पगुञ्छा अर्पण गरे ।

प्रमुख जिल्ला अधिकारी दाहालसँगै प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार जिसी, मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्रहरी अधिकारी तथा उर्मिलाका सहकर्मीहरूले पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरे र भौतिक शरीरसँग अन्तिम बिदाइ गरे । श्रद्धाञ्जलीपछि उर्मिलाको शव उदयपुरको त्रियुगामा रहेको परिवारले लिएर गएको छ । उनको अन्त्येष्टि उदयपुरमै गरिनेछ ।

लेटाङ ५ मा रहेको शिक्षा विकास माविमा स्थानीयसँगको झडपमा प्रहरी जवान उर्मिलाको निधन भएको थियो । एक शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले अवरोध गरेका थिए । त्यही क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपकै क्रममा उनको घाँटीमा चक्कु प्रहार गरिएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उर्मिलाको कोसी अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको थियो ।

१३ वर्षीया छात्रालाई यौन हिंसा गरेको भन्दै प्रहरी उनलाई पक्राउ गर्न लेटाङ पुगेको थियो । तर, स्थानीयले दोषीलाई बचाउने खेलमा लागेको भन्दै जनकारबाही गर्नुपर्ने भन्दै उनलाई त्यहाँबाट लैजान दिएका थिएनन् । राति प्रहरीले जबरजस्ती लैजान खोज्दा झडप भएको थियो ।

थोरैको संख्यामा रहेका प्रहरीलाई स्थानीय प्रदर्शनकारीले घरेलु हतियार तथा लाठी प्रहार गरेर भगाएका थिए । त्यही क्रममा प्रहरी जवान उर्मिलामाथि चक्कु प्रहार भएको थियो ।

६ महिनाअघि बिहे गरेकी उर्मिला, अधुरो रर्‍यो श्रीमान भेट्ने धोको

आइतबार अपराह्न ४ बजेकोे समय थियो । नेपाल प्रहरीको सशस्त्र प्रहरी गणको टोली विराटनगरमा आफ्नो काममा थियो । तीमध्ये एक टोली ‘स्ट्यान्डबाई’ राखिएको थियो । त्यही टोलीमा थिइन् प्रहरी जवान उर्मिला श्रेष्ठ । दिउँसोदेखि मोरङको लेटाङ नगरपालिका– ५ खेरुवामा छात्रामाथि दुर्व्यवहार भएको भन्दै एकजना शिक्षकविरुद्ध प्रर्दशन भइरहेको थियो ।

शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले विद्यालय घेराऊ गरेका थिए । दिउँसो १ बजेको समयमा स्थानीयले शिक्षकलाई नै कुटपिट गर्ने अवस्था आएपछि थप मद्दतका लागि गणको टोली लेटाङ पुगेको थियो ।

विराटनगरबाट मोरङ पुग्न ३ घण्टा लाग्छ । साँझ ७ बजे आसपासको समयमा उर्मीला रहेको प्रहरी टोली घटनास्थल पुग्यो । स्थिति निकै तनावग्रस्त बन्दै जान थाल्यो । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र आश्रुग्याँस प्रहार गर्‍यो । स्थानीयमध्ये केही घरेलु हतियार पनि बोकेर आएका थिए । घटनास्थलमै रहेका एक प्रहरी अधिकारीले भने,“घरेलु हतियार, सिसाका बोतल हामीमाथि बर्सिए । प्रहरीलाई नै ज्यान जोगाउन मुस्किल भयो ।”

दोहरो झडपमा मोरङ प्रहरीका एसपी जनार्दन जिसीसहित थुप्रै प्रहरी घाइते भए । अध्यारो हुँदै गएपछि भीड आक्रोसित हुँदै गयो । प्रहरीलाई नै लखेट्न थाल्यो ।

दोहोरो झडप बढ्दै जाँदा रातको ९ बजेको थियो । ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक (इन्सपेक्टर) रोमनराज अर्यालले भने,“सानो गेटबाट भागभाग हुन थाल्यो । प्रहरीमाथि सिसाका बोतल, ढुङ्गामुढा बर्सिन थाले । त्यही क्रममा उर्लिएको भीडले उर्मीलामाथि आक्रमण गर्‍यो । उनले ज्यान जोगाउन सकिनन् । घाँटीमा धारिलो हतियारले प्रहार भयो ।”

अरुलाई सुरक्षित गर्न ड्युटीमा खटिएकी उर्मिला अपराधीहरुको हातबाट मारिइन् । अरुलाई जोगाइन् तर आफूलाई जोगाउन सकिनन् । इन्सपेक्टर अर्याल आफैले उर्मिलालाई मैदानमा उठाएर मोटरसाइकलमा हालेर अस्पताल पठाए । रगताम्य उर्मिला अचेत थिइन् । प्रहरी पोशाकमा रगत बगिरहेको थियो । उनको मुटुको धड्कन थिएन ।

उनलाई अस्पतालले मृत घोषणा गर्‍यो । तर प्रहरी अधिकारीहरुले उर्मिला बाच्ने आश पहिल्यै गुमाइसकेका थिए । ०७६ सालमा प्रहरी सेवामा प्रवेश गरेकी उर्मिलाको ६ महिनाअघि मात्रै प्रहरी जवान नवीन श्रेष्ठसँग विवाह भएको थियो । खोटाङ माइतीघर भएकी उर्मीलाको विवाहपछिको घर उदयपुर हो ।

उनका श्रीमान् इलाममा कार्यरत थिए । उर्मिलाका दाई पनि प्रहरी सेवामै मोरङमा कार्यरत छन् ।