१६ चैत्र २०८०, शुक्रबार

यो हप्ता कोरोनाबाट निधन हुने सङ्ख्या शून्यमा झर्‍यो

corona chain

कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या यो हप्ता शून्यमा झरेको छ ।

गत आइतबारदेखि आजसम्म कोरोनाबाट कसैको पनि निधन नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या घटेसँगै नेपालमा हाल ३ हजार २ सय ४१ सक्रिय संक्रमित छन् ।

सङ्क्रमितको सङ्ख्या घटे पनि कुनै पनि बेला कोभिडको नयाँ भेरिअन्ट देखिन सक्ने भएकाले जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्न स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीले जानकारी दिनुभयो ।

आज ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ६१ नमुनाको परिक्षण गर्दा ३७ मा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा कोरोनाबाट १२ जना संक्रमित भएका छन् जसमा भक्तपुरमा २ र काठमाडौँमा १० रहेका छन् ।

यो हप्ताको कोरोनाको औसत संक्रमण दर ०.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ सय ८२ सङ्क्रमणमुक्त भएका छन् ।

यसैगरी अहिलेसम्म ११ लाख १८ हजार २ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित भएकामध्ये ११ हजार ९ सय ५० को निधन भएको मन्त्रालयले जनाएको छ ।

खोप लगाउन अनुरोध

यसैगरी कोरोना विरुद्धको खोप अनिवार्य लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।

खोपले रोगसँग लड्ने क्षमता मजबुत बनाई गम्भीर स्वास्थ्य जोखिमबाट बचाउने भएकाले अहिलेसम्म खोप नलगाएका १२ वर्ष माथिका सबै नागरिकले आफ्नै वडा कार्यालयबाट खोप लगाउन मन्त्रालयले अनुरोध गरेको हो ।

नेपालमा अहिलेसम्म १ करोड ८६ लाख ९८ हजार १ सय १३ जनाले एक मात्रा र १ करोड ८७ लाख १९ हजार १ सय २२ पूर्ण मात्रा खोप लगाइएको मन्त्रालयका सह प्रवक्ता डा.समीर अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी अतिरिक्त खोप लगाउनेको सङ्ख्या १८ लाख ३८ हजार १ सय ८३ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा १८ वर्षमाथिका ८२ प्रतिशत र १२ वर्षमाथिका ८० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्रा खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

चैत मसान्तसम्म सरकारले १८ वर्ष माथिकालाई पुरा मात्रा खोप लगाइसक्ने लक्ष्य लिइएको सह प्रवक्ता डा.अधिकारीले जानकारी दिनुभयो ।