१६ चैत्र २०८०, शुक्रबार

चलचित्र ‘मन्त्र’ को ट्रेलर सार्वजनिक

mantra trailer release

सौगात मल्ल,बुद्दि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको छ । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको चलचित्रका निर्देशक खिल बहादुर गुरुङ हुन् ।

राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्वजनिक गरिएको हो। चलचित्र २०७९ साल बैशाख १६ गते बाट देशभर प्रदर्शनमा आउनेछ। ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्र ‘मन्त्र’ टिम, बिभिन्न चलचित्रकर्मी तथा बाक्लो संख्यामा पत्रकारहरुको उपस्थिति रहेको थियो। गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् संगै डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको छ।

हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको चलचित्र एउटा अर्गानिक नेपाली चलचित्र बनेको छ। करिब ५१०० मिटर भन्दा माथिको उचाइ मनास्लु हिमालको बेस क्याम सम्म पुगेर निकै नै मेहनतका साथ चलचित्रको छायाँकन गरिएको निर्देशक खिल बहादुर गुरुङले बताए।

चलचित्र ट्रेलरले दर्शकलाई एक पटक हल सम्म तान्नेमा गुरुङ बिस्वस्त रहेका छन्। कार्यक्रममा बोल्दै अभिनेता सौगात मल्लले छायाँकनको क्रममा भएको रमाइलो अनुभव शेयर गरे। आफुले काम गरेको पछिल्लो चलचित्रहरु मध्येमा ‘मन्त्र’ आफुलाई एक दम मन परेको चलचित्र हो सौगातले भने।

चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोर्खा जिल्लाको चुमनुब्री सामा गाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ।

खिल बहादुर गुरुङ निर्देशित चलचित्रले हिमाली प्रेम कथा बोल्छ । यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ ।

देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । राजेश जंगको सह निर्देशन रहेको चलचित्रमा सह निर्माताको रुपमा भिमसेन केसी र बिसेष सहयोगी अमृत थापा रहेका छन्। चलचित्रको डिजीटल राइट्स एट के एभरेस्ट मोसन पिक्चर्सले लिएको छ।