७ बैशाख २०८१, शुक्रबार

अदालतले सरकारको गोटी जस्तो बनेर फैसला गरे अदालतप्रति जनबिश्वास गुम्छ : प्रमुख सचेतक भट्टराई

Bishal Bhattarai
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अदालतले सरकारको गोटी जस्तो बनेर फैसला गरे अदालतप्रति जनविश्वास गुम्ने बताउनुभएको छ ।

अदालत कार्यपालिकाको छाया जस्तो बनेको आरोप लगाउदै उहाँले अदालतले सरकारको गोटी जस्तो बनेर फैसला गरे अदालतप्रति जनविश्वास गुम्ने बताउनुभएको हो ।

जनता टेलिभिजनसँगको विशेष समयमा वरिष्ठ पत्रकार टंक पन्तसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले तत्कालीन नेकपा हुँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काम गर्न नदिएका पुष्पकमल दाहालले अहिले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि काम गर्न नदिएको आरोप लगाउनुभयो । साथै उहाँले सभामुखले नियोजित रुपमा एमाले पार्टीलाई विभाजन गरेको र संसदको गरिमा र प्रतिष्ठा जोगाउन नसकेको आरोप लगाउनुभयो ।

आगामी स्थानीय तहको निर्वाचनमा पार्टी केन्द्रित भएको भन्दै उहाँले उम्मेदवार छनोट र घोषणापत्र जारी गर्न मात्र बाँकी रहेको बताउनुभयो । साथै उहाँले अबको निर्वाचनमा अखण्डित जनादेश प्राप्त गरी पाँच वर्ष सरकार चलाउने गरी पार्टी लागिपरेको बताउनुभयो ।

पछिल्लो समय जनतामा निराशा भए पनि एमाले अध्यक्ष ओलीप्रति जनताको भरोसा रहेको उहाँको दाबी छ । नेपाली राजनीतिमा निर्वाचित प्रधानमन्त्रीले पूरा कार्यकाल सरकार सञ्चालन गर्न नपाएको विगत स्मरण गर्दै त्यसको गम्भीर समिक्षा जरुरी रहेको उहाँको भनाइ छ ।