७ बैशाख २०८१, शुक्रबार

सैन्य उपकरणको अभाव खेप्दै रुस

russia attack
फाइल फोटो

रुसले गरेको आक्रमणको २४ औँ दिन पुग्दा पनि युक्रेनले त्यसको डटेर सामना गरिरहेको छ भने रुसले विस्तारै शैन्य उपकरण अभाव खेप्न थालेको छ । ४ जर्नेलसहित १३ जना वरिष्ठ सैनिक अधिकारी गुमाएको रुसले सहयोगका लागि चीनलाई गुहार्दा त्यसको तनाव भारतमा समेत छचलकीएको छ ।

रुसले युक्रेनमा आक्रमण थालेको २४ दिनपुग्दा समेत निकास मार्ग मिलेको छैन । बरु दिनप्रतिदिन दुवैतर्फ मानवीय र भौतिक क्षती बढ्दै गएको छ । जारी आक्रमणमा अहिलेसम्म ८ सय १६ जना सर्वसाधारणले ज्यान गुमाएका छन १ हजार ३ सय ३३ जना घाइते भएका छन ।

संयुक्त राष्ट्र मानव अधिकार कार्यालय (ओएचसीएचआर) का अनुसार भीषण बमबारीमा सबै भन्दा बढी मानिसको मृत्यु भएको छ । यसमा भारी आर्टिलरी फायरिङ, धेरै रकेट प्रक्षेपण प्रणाली बमबारी, मिसाइल आक्रमण र हवाई हमलाहरू समावेश छन् । संयुक्त राष्ट्रसंघले डरलाग्दो आक्रमणबाट प्रभावित धेरै शहरहरूको तथ्याङ्क प्राप्त गर्न नसकेका कारण मृत्यु हुनेको वास्तविक सङ्ख्या धेरै हुनसक्ने बताएको छ । यता रुसतर्फ पनि युद्धको क्षती बढ्दै गएको छ ।

आक्रमणका कारण रुसी सेनाले थप एकजना वरिष्ठ सैन्य अधिकारी गुमाएको छ । रुसको सरकारी टेलिभिजनले ३३१औं गार्ड प्यारासुट एसल्ट रेजिमेन्टका कर्णेल सर्गेई सुखारेभ मारिएको पुष्टि गरेको हो। उनीसँगै विशेष फौजका मेजर सर्गेई किरिलोभसमेत मारिएको समाचारमा उल्लेख छ । त्यस्तै, वरिष्ठ सर्जेन्ट सर्गेई लेबेदेब, सर्जेन्ट अलेक्जाण्डर लिमोनोभ र कर्पोरल युरी डेगत्यारयोभले समेत ज्यान गुमाएका छन् ।

त्यस्तै युक्रेनी सेनाको पछिल्लो भिडन्तमा सैन्य गुप्तचर अधिकृत एवं २२ औ स्पेशल फोर्सेस ब्रिगेडका सदस्य सर्गेई विश्न्याकोभसमेत मारिएको बेलायती समाचार माध्यमले जनाएका छन् । मोटराइज्ड राइफल रेजिमेन्टका कमाण्डर युरी अगरकोभ समेत विशेष सैन्य कारबाहीका क्रममा मारिएका छन् भने ३८ औं मोटराइज्ड राइफल ब्रिगेडका सहायत कमाण्डर मेजर रुस्लान पेट्रुखिम पनि मारिएको अनुमान गरिएको छ ।

रुसी सेनाले सैन्य कारबाहीयता कम्तिमा ४ जना जर्नेलसहित १३ जना अधिकारी गुमाइसकेको डेली मेलले बताएको छ । योसंगै रुसले शैन्य उपकरणको पनि अभाव झेल्न थालेको छ । फलत ः युक्रेनमाथि युद्ध अघि बढाउनका लागि चीनसँग सैन्य उपकरणको माग गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी अधिकारीहरूले रुसी सेनासँग सैन्य आपूर्ति, पार्टपूर्जा र तेलको अभाव रहेको बताएका छन् । जसको प्रभाव भारतमा समेत परेको छ ।

भारत अहिले पनि सैन्य पार्टपूर्जाको लागि रुसमाथि निर्भर रहेको छ । पश्चिमाले लगाएको ठूलो प्रतिबन्धले भारतलाई हतियारका पार्टपूर्जाको आपूर्तिमा रुसले गरेको कटौती र सहयोगका लागि चीनसंग हात बढाएको खबरले भारतलाई तनाव दिएको हो । यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गरेका छन ।

रुस जुनसुकै अवस्थामा पनि पछि नहट्ने देखिरहँदा जेलेन्स्कीले रुसको गल्तीका कारण भएको क्षतिलाई न्यून गर्ने एउटा अवसर भएको भन्दै वार्ता आह्वान गरेको हुन ।