७ बैशाख २०८१, शुक्रबार

महानगरवासीले दिएको धेरै जिम्मेवारी पूरा गरे: मेयर शाक्य

Bidya sundar sakhiya
फाइल फोटो

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दावी गर्नु भएको छ । मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाई दिएको पनि बताउनु भयो ।

शनिबार काठमाडौँ महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उहाँले महानगरबासीको सबै चाहना पूरा गर्न नसकेपनि उनीहरुले सुम्पेको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताउनु भयो । त्यसका लागि सबै वडामा प्रशस्त बजेटको व्यवस्था गरेको उहाँको भनाई थियो ।

मेयर शाक्यले सबै वडा कार्यालयहरुलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको जिकीर पनि गर्नु भयो । सबै वडाहरुलाई प्रशस्त बजेट दिने, काम गर्ने वातावरण बनाउने र त्यसका लागि आवश्यक टिम परिचालन गर्ने काममा आफूले कमी हुन नदिएको उल्लेख गर्दै मेयर शाक्यले सबै काम सम्पन्न नै भईसक्यो भनेर भने आफूले नभन्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै उपमेयर हरिप्रभा खड्गीले सहरलाई व्यवस्थित बनाउन ढल व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेर सबै वडा कार्यालयहरुको कामलाई अघि बढाइएको बताउनु भयो ।