१३ बैशाख २०८१, बिहीबार

पुनः मेराे दाबेदारी रहन्छ काठमाडाैं महानगरकाे मेयरमा: मेयर शाक्य

Bidya sundar sakhiya
फाइल फोटो

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेददारी रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा घाेषित स्थानीय तह निर्वाचनमा पुनः आफ्नो दाबेदारी रहेको बतउनुभयो। मेयर शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरुको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताउनुभयो ।

मेयर शाक्यले भन्नुभयो, ‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यक्ताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो ।

अर्को भनेको महानगरवासीको चाहना के छ ? त्यो पार्टीले बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो, होइन भने पार्टीले जसलाई जिम्मा दिएपनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौँ ।’

उहाँले भन्नुभयाे, ;विकास निर्माणका काम भनेको निरन्तर रुपमा चल्ने हो, कहिले पनि सकियो भन्ने हुँदैन । एउटा सकिन्छ, अर्को काम शुरु हुन्छ । यो निरन्तर रुपमा चलिरहन्छ । हामीले हाम्रो कार्यकालमा धेरै शिलान्यास गरिसकेका छौँ । शिलान्यास धेरै भयो उद्घाटन कहिले हुन्छ भन्ने कुरा आउँछ, निश्चित समयमा बन्छ ।’

मेयर शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संम्वर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताउनुभयो । उहाँले महानगरको नीति अनुसार आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण गर्दै जाने बताउनुभयो ।

उहाँले विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रुपमा काठमाडौंको विकासका लागि महानगर लागि रहने प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले रानीपोखरीको केही काम बाँकी रहेकोले काम सम्पन्न हुनासाथ सर्वसाधारणका लागि खुला गर्ने पनि बताउनुभयो ।