१२ बैशाख २०८१, बुधबार

सम्भव छ ? भारत जस्तै नेपालमा पनि वैकल्पिक शक्ति

baikalpik

भारतको पञ्जाव राज्यमा आम आद्‍मी पार्टी आपले दुई तिहाई मत प्राप्त गरेसँगै भारतभर फेरि वैकल्पिक शक्तिको चर्चा हुन थालेको छ ।

१० वर्षअघि गठन भएर दिल्लीमा दुई कार्यकाल सरकार चलाएको आप दिल्लीबाहिर पहिलोपटक पञ्जाबमा शक्तिशाली सरकार गठन गर्न सफल भएपछि स्वभाविक रुपमा वैकल्पिक शक्तिका रुपमा देखिएको छ । आपको जितको प्रभाव भारतमा त छ नै नेपालमा पनि यस्तै खालको वैकल्पिक पार्टी उदय हुने विषयमा बहस हुन थालेको छ ।

भ्रष्टाचार विरोधी र मौलिक हकसम्बन्धी अभियन्ता रहेका अरविन्द केजरीवालले नेतृत्व गरेको आम आदमी पार्टीमा युवाहरुकै बाहुल्यता रहेको छ । अर्कोतर्फ यो पार्टीमा कुनै न कुनै क्षेत्रमा राम्रो काम गरेर चर्चा हासिल गरेका व्यक्ति समेटिँदा आमरुपमा यसप्रति आकर्षण बढेको पनि छ । तर दिल्लीबाहिर जान खासै रुचि नदेखाएको यो पार्टी पञ्जाबमा प्रवेश गरेसँगै हासिल गरेको अनपेक्षित जितले भारतभर अब वैकल्पिक राजनीतिक शक्तिको बहस चुलिएको हो ।

आपले पञ्जाबका १ सय १७ मध्ये ९२ सिटमा जित हात पार्दै दुई तिहाई बहुमत सहित सरकार बनाएको छ । आपको चमत्कारिक जितसँगै नेपालमा पनि वैकल्पिक शक्तिबारे फेरि बहस हुन थालेको छ । दिल्लीपछि पञ्जाबमा आफ्नो सरकार बनाएको आम आदमी पार्टीलाई बैकल्पिक शक्ति मानीहाल्न भने हतार हुने कतिपयको विश्लेषण छ ।

किनकी भारतका ३२ राज्यमध्ये आपको सरकार दुई राज्यमा मात्रै हो । अधिकांश राज्यको नेतृत्व भारतीय जनता पार्टीले गरेको छ । त्यसैले भारतीय मतदाताले अहिले नै भाजपा र कांग्रेस आईको विकल्प खोजिसकेको भन्न सकिने अवस्था छैन ।

भारतको पश्चिम बंगालमा कम्युनिष्ट पार्टीलाई पराजित गरेर मुख्मन्त्री बनेकी ममता बेनर्जीको पार्टी तृणमुण कांग्रेसलाई पनि बैकल्पिक शक्तिका रुपमा हेरिएको थियो । तर पछिल्ला वर्ष ममता बेनर्जीको पार्टी कमजोर बन्दै गएको छ ।

यद्यपि केजरीवालले उठाएका मुद्दा र आम मतदाताले गरेको विश्वासको आधारमा नेपालमा पनि यत्तिकै स्पष्ट रुपमा एजेण्डा लिएर आउने पार्टी किन वैकल्पिक शक्ति नबन्ने भन्ने जिज्ञासा स्वभाविक रुपमा देखिन्छ ।

पछिल्लो स्थानीय तह निर्वाचनमा विवेकशील र साझा पार्टीलाई वैकल्पिक शक्तिका रुपमा हेरियो । काठमाडौं महानगरपालिकामा विवेकशीलकी रञ्जु दर्शना र साझाका किशोर थापाले अत्यधिक भोट प्राप्त गरेका थिए ।

त्यसअघि माओवादी छोडेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टीलाई पनि वैकल्पिक पार्टीका रुपमा हेरियो । तर यो पार्टी चुनावसम्म आइपुग्दा निकै नै कमजोर बनिसकेको थियो । अहिले नयाँ शक्ति पार्टी अस्तित्वमै छैन ।

त्यतिबेलाका विवेकशील र साझा पार्टी वैकल्पिक शक्ति बन्नैका लागि एकीकरण भए, फेरि फुटे, फेरि जोडिए र अहिले निकै कमजोर अवस्थामा देखिन्छन् । नयाँ शक्तिका रुपमा नयाँ एजेण्डा र मुद्दामा आएका भनिएका पाार्टी नै विचलित भएपछि वैकल्पिक शक्तिमाथिको भरोसा मिठो सपनाका रुपमा सीमित बन्यो । त्यतिबेलाका उम्मेदवारहरु नै गुमनाम भइसकेका छन् ।

भारतमा केजरीवालको पार्टीले गरेको तरक्कीले भने यो बहस फेरि सुरु भएको हो । आम निर्वाचनमा मात्रै नभएर दलको आन्तरिक निर्वाचन मार्फत् पनि जनताले विकल्प खोजेको सन्देश दिँदै आएका छन् । नेपाली कांग्रेसको हालै सम्पन्न महाधिवेशनमा विकल्पमै मतदान भएको छ ।

गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङहरु बिजयी भएर पार्टीको नेतृत्वमा पुग्ने अवस्था बन्नु पनि विकल्पकै रुपमा बुझ्नु पर्ने बिश्लेषक झाको मत छ । त्यस्तै राप्रपाको नेतृत्वमा राजेन्द्र लिंग्देल पुग्नुलाई पनि बिकल्पकै खोजीको रुपमा बुझ्नु पर्दछ । तर जनताले मौका दिएर पठाएका पार्टी र नेताहरुले आफ्नो प्रतिबद्धता पुरा गर्न नसक्दा कुनै पनि शक्ति लामो समय सरकारको नेतृत्वमा टिक्न नसकेको यथार्थ हामीमाझ छरपस्ट छ ।

अर्कोतर्फ वैकल्पिक भनेर आएका पार्टी नै झनै कमजोर देखिँदा आम मतदाता पुराना पार्टीलाई नै भोट हाल्नुपर्ने एक प्रकारको बाध्यतामा देखिन्छन् ।