१० जेष्ठ २०७९, मंगलवार

पुनः श्रम स्वीकृति दिन सुरु दुई वर्षपछि मलेसिया जाने श्रमिकलाई

kwalalampur malaysia

नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसिया रोजगारीका लागि पुनः खुला भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई वर्षदेखि रोकिएको मलेसिया मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिव दुई बर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुनः सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गर्नुभएको हो ।

प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिक जान पाएका थिएनन् ।

मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेको र सो अनुसार मागपत्र नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएकोले श्रम स्वीकृति प्रदान गर्ने कार्य पुनः सुरु गर्ने निर्णय गरिएको मन्त्री श्रेष्ठको बताउनुभयो ।