७ बैशाख २०८१, शुक्रबार

छलफलका लागि सदनमा पेस, प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव

samsad

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिसभाको अर्को बैठकमा छलफल हुने भएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते दिउँसो १ः०० बजेका लागि बोलाइएको छ । महाअभियोगका प्रस्तावक एवं नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले बैठकमा महाअभियोग प्रस्ताव प्रस्तुत संसद्मा पेस गर्नुभएको थियो ।

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव पेस गर्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संविधान, कानुन र न्यायिक मूल्य मान्यताविरुद्ध काम गरेको, न्यायिक आचरण र कार्यक्षमताका अभाव देखिएको लयागत २१ बुँदे आधार प्रस्तुत गर्नुभएको छ ।

९५ जना सदस्यहरूको समर्थनमा सांसद देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवन राम श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ गते महाअभियोग प्रस्ताव संसद्मा दर्ता गराउनुभएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको नाराबाजीकैबीच बैठकमा महाअभियोग प्रस्ताव पेस गरिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बीच यसअघि एमाले सांसद डा. भीम रावलले समय माग मागेर नेपाली भूमिमा भारतीय पक्षले डोजर लगाएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

एमाले सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरे पनि सांसद रावलले एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधानहरू संशोधन नगरी पारित गरिएको भन्दै नेपालको स्वतन्त्र परराष्ट्र नीतिमाथि प्रश्न उठेको आरोप लगाउनुभयो ।

आजको बैठकमा सार्वजनिक लेखा समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन, २०७८ सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले पेस गर्नुभएको थियो ।