१६ चैत्र २०८०, शुक्रबार

मन्त्री जनार्दन शर्मा भन्छन् –’अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा सीमा’

janardhan sharma

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताउनुभएको छ ।

भन्सार विभाग, त्रिपुरेश्वरमा आज (आइतवार) आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिनुभयो ।

“देशको अर्थतन्त्र यतिबेला चुनौतीपूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही वस्तुको आयातमा मार्जिन राखेका छौं”, उहाँले भन्नुभयो, “यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर, यो सधैँका लागि राखिएको होइन। हाम्रो बाध्यकारी परिस्थितिले यो अवस्था सिर्जना भएको छ । स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्नेछ ।”

अर्थमन्त्री शर्माले भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, नीतिबाट सिर्जित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न गोष्ठी प्रभावकारी हुने आफूले विश्वास लिएको बताउनुभयो ।

त्यस्तै वस्तु आयातमा गरिएको वर्गीकरणसम्बन्धी व्यवस्थाले व्यवसायीमा असन्तुष्टि देखिएकाले त्यसलाई पनि गोष्ठीका माध्यमबाटै समाधानको सुत्र पहिल्याउन पनि उहाँले निर्देशन दिनुभयो । उहाँले भन्सार कार्यालयमा प्रयोग हुने भेहिकल स्क्यानिङ सम्बन्धी निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने जानकारी दिनुभयो ।

अर्थमन्त्री शर्माले व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडि बढ्न सबै कर्मचारीलाई निर्देशन दिनुभयो । माघ मसान्तसम्मको लक्ष्य भन्दा बढी भन्सार राजस्व परिचालन गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म रु तीन खर्ब ५ अर्ब राजस्व सङ्कलनको लक्ष्य भए पनि आयातमा गरिएको कडाईका बाबजुद तीन खर्ब ८ अर्ब राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । यो गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशत बढी हो ।

सो अवसरमा अर्थमन्त्री शर्माले निर्यातमा सुधार भइरहेकामा खुसी व्यक्त गर्नुभएको थियो । “कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको छ । हामीले माघ मसान्तसम्म एक खर्ब ३१ अर्बको निर्यात गरेका छौं”, उहाँले भन्नुभयो, “तर, हामी यतिमा रोकिनुहुँदैन । प्रत्येक वर्ष १० प्रतिशतका दरले निर्यातमा हिस्सा थप्दै एक दिन आत्मनिर्भर हुने बाटोमा जानुपर्छ ।”

उहाँले सबै कर्मचारीलाई मेहनत गरेर राजस्व प्रशासन र राजस्व परिचालनमा उत्कृष्ट काम गर्न निर्देशन पनि दिनुभयो ।