८ बैशाख २०८१, शनिबार

आफु पदमा रहँदासम्म नेपाली जनताकै काम गरेर बस्छु : मन्त्री आले

IMG 20211231 183545
फाइल फोटो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफु पदमा रहँदासम्म नेपाली जनताकै काम गरेर बस्ने बताउनुभएको छ । उहाँले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने पनि स्पष्ट गर्नुभयो ।

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको आज (शुक्रवार) काठमाडौँमा आयोजित छैठौँ राष्ट्रिय सम्मेलनमा मन्त्री आलेले भन्नुभयो “म जति समय पदमा रहन्छु, त्यति नै समय देश र नागरिकका हितका लागि नै काम गर्छु । देश र नागरिकभन्दा मेरा लागि ठूलो कुरा अरु केही छैन ।”

मन्त्री आलेले दलित, जनजाती समुदायहरु विगतदेखि राज्यको उत्पीडनमा परेकाले यो समुदायको उत्थानका लागि आफू सधैँ कटिबद्ध रहेको बताउनुभयो ।

“दलित समुदायले बनाएका औजारहरु प्रयोग गर्न मिल्ने तर उनीहरुसँग पानी नचल्ने जस्तो विभेद्को अन्त गर्नुपर्छ” उहाँले भन्नुभयो । समाजमा पिछडिएर रहेका दलित, जनजाति समुदायहरुका पक्षमा आफूले बिगतदेखि नै वकालत गर्दै आएको उहाँको भनाइ थियो ।

दलित समुदायको बृत्ति विकास, हकहितका लागि आवश्यक बजेट व्यवस्थापनदेखि अन्य कुराहरुको सहयोगका लागि मन्त्रालय सधैँ सकारात्मक रही काम गर्ने उहाँले बताउनुभयो ।

गरिबी, अशिक्षा तथा विकासको मूलधारबाट बाहिर परेकाले पश्चिमका दलित समुदायको अवस्था झन् दयनीय रहेको मन्त्री आलेको भनाइ थियो । उक्त कार्यक्रममा नेपाली साहित्यका माध्यमबाट जातीय विभेद तथा असमानताका बिरुद्ध काम गर्ने तीन जनालाई सम्मान प्रदान गरिएको थियो ।