१५ बैशाख २०८१, शनिबार

डलरको भाउ उच्च, इतिहासकै कमजोर बन्दै नेपाली रुपैयाँ

dollar

अमेरिकी डलरको भाउ उच्च हुँदा पछिल्लो समय नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ। विश्वव्यापी रुपमा डलरको माग उच्च हुँदा यसको मूल्य बढेको हो ।

विदेशी लगानी, नेपाल भ्रमणमा आउने पर्यटक र रेमिट्यान्स घटिरहेको अहिलेको अवस्थामा डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा आयातमुखी नेपाली अर्थतन्त्रमा सकारात्मकभन्दा नकारात्मक असर धेरै पर्ने देखिन्छ ।

पछिल्लो समय लगातार अमेरिकी डलर बलियो बन्दै गएको छ । रुस–युक्रेन युद्धपछि विश्वभर अमेरिकी डलरको माग बढ्दा डलर बलियो बनेको हो । त्यसैले मंगलबार नेपाली रुपैयाँ इतिहासकै कमजोर बन्यो ।

सो दिन नेपाल राष्ट्र बैंकले एक डलरको भाउ १२३ रुपैयाँ ४४ पैसा तोकेको थियो । तर, बुधबारका लागि १२३ रुपैयाँ ३६ रुपैयाँ तोकेको छ । अर्थात एक अमेरिकी डलर खरिदका लागि १२३ रुपैयाँ ३६ पैसा तिर्नुपर्नेछ । अमेरिकी डलर बलियो हुँदा आयातमुखी नेपाली अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिएको छ।

डलर बलियो हुँदा रेमिट्यान्स आप्रवाह बढ्छ । यो बेला रेमिट्यान्स पठाउनेले बढी मूल्य पाउँछ । यस्तै पर्यटकमार्फत हुने आम्दानी पनि बढ्न जान्छ । निर्यात व्यापारलाई पनि यसले फाइदा नै पु¥राउछ । तर पछिल्लो समय यी सबै घटिरहेको अवस्थामा डलर बलियो हुँदा विदेशी मुद्रा सञ्चितीमा दबाब पर्न जान्छ । यति मात्र होइन आयात बढ्दा महंगी समेत बढ्छ ।

नेपाल राष्ट्र बैंकको ६ महिनाको तथ्याङ्क अनुसार मुलुकमा विदेशी मुद्रा सञ्चिती ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ मात्र छ । अमेरिकी डलरमा यस्तो सञ्चिती ९ अर्ब ८९ करोड छ । नेपालले भारतीय मुद्रासँग स्थिर विनिमय दर राखेकाले त्यसैको आधारमा अन्य मुलुकसँग विनिमय दर निर्धारण हुन्छ ।

भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रा पनि खस्किने र बलियो भएमा बलियो हुने गर्छ । अझ नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुनेगर्छ । तर भारतमै पनि भारु सस्तो हुँदा हुने महंगीयता सर्नसक्ने छ ।