१४ बैशाख २०८१, शुक्रबार

कुनै पनि हालतमा रुससामू आत्मसमर्पण नगर्ने युक्रेनी राष्ट्रपतिको अडान

ukrain pressident

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कुनै पनि हालतमा रुस सामू आत्मसमर्पण नगर्ने बताएका छन् ।

बेलायतको हाउस अफ कमन्समा सांसदहरूलाई सम्बोधन गर्दै उनले रुसविरुद्धको युद्धमा आफूहरुको जित हुने बताउँदै आत्मसमर्पण नगर्ने अडान दोहोर्‍याए ।

सम्बोधनमा उनले जंगल, खेत, मैदान, समुद्री किनार तथा सडक लगायत हरेक स्थानमा आफूहरुको लडाई जारी रहने बताए । जेलेन्स्कीको सम्बोधन अघि र भएपछि सांसदहरू उठेर ताली बजाउँदै उनीप्रति सम्मान प्रकट गरेका थिए ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनी जनतालाई आफ्नो देश रक्षाका लागि आवश्यक हथियार उपलब्ध गराइन तयार रहेको बताए ।

यसअघि बेलायतले सन् २०२२ को अन्त्यसम्म रुसी कच्चा तेल आयातमा पूर्ण प्रतिबन्ध लगाइने बताइसकेको छ । अमेरिकाले पनि रुसी तेल, ग्यास र कोइला आयातमा पूर्ण प्रतिबन्धको घोषणा गरिसकेको छ ।

पोल्याण्डले लडाकु विमान उपलब्ध गराइने बताएको थियो । रुसले युक्रेनका मुख्य शहर लक्षित आक्रमण जारी राखेको छ । आंशिक युद्धविराम भएपछि राजधानी किभ, इर्पिन तथा सुमे लगायतका शहरबाट मानिस लगातार सुरक्षित स्थानतर्फ गइरहेका छन् ।

युद्ध शुरू भएयता २० लाख मानिसले युक्रेन छोडेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ । युक्रेनले बाह्र हजारभन्दा बढी रुसी सेना मारेको दाबी गरेको छ ।