२६ बैशाख २०८१, बुधबार

९० प्रतिशत महिला पीडित : मन्त्री उमा रेग्मी

uma regmi
फाइल फोटो

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मीले समाजमा रहेको रुढीबाढलाई चिर्दै महिला भएकोमा गौरव गर्दै अगाडि बढ्न सकिने बताउनुभएको छ ।

मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिनुहुँदै महिला पूर्णरुपमा स्वतन्त्र नभए पनि कमजोर पनि नरहेको बताउनुभयो । समाजसँगै देश सेवा पहिलो प्राथमिकता रहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार हरेक घरमा कहीँ न कहीँ महिला अझै पीडित छन्, दमनमा छन् र शतप्रतिशत स्वतन्त्रता छैन । रेग्मीले ९० प्रतिशत महिला पीडित रहेको बताउनुहुन्छ ।

‘गाउँ–गाउँका महिला पीडित छन् । महिला दोहोरोतेहरो जिम्मेवारी बहान गर्नुपरेको छ ।,’ उहाँले भन्नुभयो, ‘महिला दिवस मनाइरहे पनि समतामूलक नेपालको निर्माण गर्न नसक्दासम्म महिला दिवस मनाएको अर्थ हुँदैन ।’

महिलालाई सम्पतिमा सामान अधिकार नहुँदा स्वतन्त्रता नदेखिएको हो । सम्पतिमा महिलालाई सामान अधिकारको व्यवस्था हुँदाहुँदै पनि अंश पाएको व्यवहारमा देखिँदैन । कानुनी स्पष्ट छैन । त्यसकारण महिलाहरु आर्थिक पहुचबाट टाढा रहेको उहाँको भनाइ छ ।

महिलाहरुलाई उद्यमी बनाउन जरुरी छ । तर, उद्यमी बनाउन पनि ऋणको लागि धितो चाहिने हुन्छ । त्यसको लागि पनि महिला स्वतन्त्र छैनन् । त्यसको लागि मन्त्रालयले महिलालाई उद्यमी बनाउन विभिन्न किसिमका तालिमहरुको व्यवस्था गरेको छ । जुन तालिमको प्रमाणपत्रले महिलाले एक लाखसम्म ऋण लिन सकिने मन्त्री रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अधिकार मागेर मात्रै हुँदैन । संघर्ष पनि गर्नुपर्छ । सबै जिम्मेवारी आफूले मात्रै लिनुहुँदैन । जिम्मेवारीको बाँडफाँड गर्नुपर्छ । समाज, देश विकासमा लागेर नेतृत्व गर्ने क्षमताको विकास गर्नुपर्छ । आत्मनिर्भर बन्ने प्रयास गर्नुपर्ने उहाँले अनुरोध पनि गर्नुभयो । महिला आत्मनिर्भर भए मात्र दिवस मनाएको सार्थकता हुनेछ ।