१६ चैत्र २०८०, शुक्रबार

भाग्यशाली नेतृ पदैपद !

uma regmi

नेपाली कांग्रेसको भ्रातृसंघ महिला संघको अध्यक्ष पद रिक्त भएको चार महिना हुँदासमेत नेतृत्व चयनतर्फ पार्टीको ध्यान जान सकेको छैन । संघकी अध्यक्ष उमा रेग्मी वर्तमान सरकारमा मन्त्री बनेपछि संघ नेतृत्वविहीन छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोजमा रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त गरेका थिए । उनी २९ भदौ २०७३ मा महिला संघको अध्यक्ष निर्वाचित भएकी थिइन् । संघकी अध्यक्ष रेग्मी मन्त्रीका साथै कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् ।

हालै उनलाई कांग्रेस सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति सदस्य मनोनीत गरेका थिए । मन्त्री, पार्टीको केन्द्रीय सदस्य र महिला संघको अध्यक्ष गरी तीनवटा पद पाउने रेग्मी कांग्रेसमा भाग्यशाली नेतृ हुन् ।

महिला संघको एक कार्यकाल चार वर्षको हुने विधानको व्यवस्थाअनुसार रेग्मीको समयावधि अघिल्लो वर्ष नै सकिएको थियो । तर पार्टीले समय थप गर्दै आएको छ ।

विधानमा भ्रातृसंघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित भए वा मनोनीत भएमा भ्रातृसंघको पद रिक्त हुने व्यवस्था छ ।

महिला संघकी निवर्तमान अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले छिटो अधिवेशन गराउने वातावरण बनाएर महिला संघलाई चलायमान र गतिशील बनाउन नेतृत्वलाई आग्रह गरेकी छन् । महिला संघकी नेतृ मालती सोडारी कोभिडको कारण देखाउँदै नेतृत्वले अधिवेशन गर्न नसक्नु लज्जास्पद भएको बताउँछिन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा महिला संघसहित पाँच भ्रातृसंगठनका प्रमुख केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उक्त पदहरू रिक्त भएका हुन् ।

महिला संघकी अध्यक्ष रेग्मी, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार र दलित संघका मीन विश्वकर्मा पार्टीको केन्द्रीय सदस्य बनेका छन् ।