१४ बैशाख २०८१, शुक्रबार

६ वर्षपछि पक्राउ, इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी

arest

इन्टरपोलमा ‘रेड नोटिस’ जारी भएका एक जना फरार प्रतिवादीलाई कतारबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याइएको छ ।

पक्राउ गरी काठमाडौं ल्याइएकामा सिरहा बिष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्रप्रसाद यादव छन् । उनलाई घटनाको ६ वर्षपछि कतारबाट पक्राउ गरी नेपाल ल्याइएको हो ।

आफ्नै २५ वर्षीया श्रीमती आरती परियारको धारिलो हतियारले घाँटी रेटी हत्या गरे पश्चात उनी फरार रहेको प्रहरीले जनाएको छ ।

भोगेन्द्रलाई कतारमा पक्राउ परेपश्चात प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल दोहा कतारसँग समन्वय गरी नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

ललितपुर लेलेमा २०७२ वैशाख १५ गते बिहान आरतीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा उनी कतार गएका थिए ।

भोगेन्द्रविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास र पक्राउको लागि महानगरीय अपराध महाशाखाको अनुरोधमा २०७६ पुस १२ गते ईन्टरपोल महासचिवालयबाट ‘डिफ्यूजन’ नोटिस जारी गरिएको थियो । २०७७ साउन १९ गते उनको नाममा ‘रेड नोटिस’ जारी गरिएको थियो ।

यादवलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि महानगरीय अपराध महाशाखामा बुझाइएकोमा इन्टरपोल शाखाले जनाएको छ ।