१३ बैशाख २०८१, बिहीबार

राष्ट्रवादी शक्तिहरु एक भएर देश बेच्ने नेताहरुलाई परास्त गरौँः पूर्वमन्त्री पाण्डे

bikram padney 1

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले राष्ट्रवादी शक्तिहरु एक भएर देश बेच्ने नेताहरुलाई परास्त गर्नुपर्ने बताएका छन् ।

भरतपुरको ज्ञानेश्वर सामुदायिक वनमा आयोजित वृहत् नगरभेला तथा पार्टी प्रवेश कार्यक्रममा नेता पाण्डेले ठूला दलहरु सम्पत्ति हिनामिना गर्दा, देश बेच्दा दलहरु एक ढिक्का बन्ने गरेको उदाहरण एमसीसी अनुमोदन गर्दा देखिएको बताएका हुन् ।

उनले देश बेच्नेहरुलाई परास्त गर्न राष्ट्रवादी शक्तिहरु एकहुनुपर्नेमा जोड दिए । उनले भने, ‘युक्रेनमा रुसले आक्रमण गर्दा राष्ट्रवादी शक्तिहरुले प्रतिवाद गरेजस्तै देश बेच्नेहरुलाई देशबाटै लखेट्नुपर्छ । देश बचाउन सबै एकजुट बनौँ ।’

त्यसैगरी कार्यक्रममा राष्ट्रिय प्रजातन्त्रका पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले चितवनमा निस्सालाई लालपुर्जा भनेर जनता झुक्याउने काम भएको आरोप लगाएका छन् । उनले लालपुर्जा दिन सरकार असफल बनेको दाबी गरे ।

‘चुनावमा घरघर लालपुर्जा दिन्छु भने, अहिल निस्सा बाँड्दै हिडेका छन्’, उनले भने, ‘आयोगको छाप बिनाको निस्सा बाँडेर जनतालाई झुक्याउने कामको खबरदारी गरौँ ।’ भूमिहिन तथा सुकुमबासीलाई चुनाव जितेर गएपछि बिर्सिएकाहरुले चुनावको मुखमा निस्सा बाँड्दै हिड्न थालेको उनले दाबी गरे । ‘लालपुर्जा वितरण गरौँ, भूमीको स्वामित्व दिन लाग्नुपर्छ’, उनले भने, ‘बसिरहेको घर तथा जग्गाको निस्सा अर्थात चिटले समस्या हल हुदैन ।’

नेता पाण्डे पूर्व वन तथा भूमिसुधार मन्त्रीसमेत हुन् । उनले एमसीसी सम्झौता अनुमोदन गर्दा गरिएको व्याख्यात्मक टिप्पणी अर्थहिन भएको बताए । दुई देशबीच भएको सम्झौता एकतर्फी निर्णय गरेर संसोधन गरिएको भनेर जनतामा भ्रम छर्ने काम भएको बताए ।

राप्रपा भरतपुर महानगर कमिटीले गरेको नगरभेलामा अन्य परित्याग गरेर आउनेहरुलाई पार्टी प्रवेश गराइएको छ । कार्यक्रममा ५७० जना राप्रपा प्रवेश गरेका छन् । चितवनमा केही महिना यता राप्रपामा प्रवेश गर्नेको लहर बढेको छ ।