१६ चैत्र २०८०, शुक्रबार

मूकदर्शक सरकार: मूल्यवृद्धिले उपभोक्ताको ढाड सेकिँदै

mulyabriddhi

बजारमा खाने तेलको मूल्य बढेपछि उपभोक्ताको भान्छा महंगिएको छ । यसअघि कहिले पेट्रोलियम पदार्थको मूल्यले ढुवानी महङ्गिएर त कहिले कच्चा पदार्थको मूल्य बढेको बहानामा पटक–पटक तेलको मूल्य बढाउँदै आएका व्यापारीले यसपटक भने युक्रेन–रुस युद्धलाई बहाना बनाएका छन् ।

दुई देशबीच युद्ध शुरु भएको दुई साता पनि नपुग्दै अस्वाभाविक रुपमा मूल्य बढाउँदा र कृत्रिम अभाव सिर्जना गर्दासमेत सरकारी निकाय चुपचाप छ ।

दुई सातायता नेपाली बजारमा खाने तेलको मूल्य अस्वाभाविक रुपमा बढेको छ । केहीदिन अघिसम्म प्रतिलिटर २४० रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य अहिले २६० रुपैयाँ पुगेको छ ।

सात समुद्रपारिका मुलुक युक्रेन र रुसबीचको युद्धलाई देखाएर व्यापारीले मूल्य बढाएका हुन् । बजारमा खाने तेलको मूल्य मात्र बढेको छैन्, कृत्रिम अभावसमेत सिर्जना गरेका छन् ।

डेढ वर्षको अन्तरालमा पटकपटक गरेर लिटरको १ सय रुपैयाँ मूल्य बढिसकेको छ । सूर्यमुखी तेलको कच्चा पदार्थ रुस, युक्रेन र अर्जेन्टिनाबाट आयात हुन्छ । यी देशबाट कच्चा पदार्थ आयात गर्न कम्तीमा पनि दुई महिना लाग्छ ।

कच्चा पदार्थ ल्याएर प्रशोधन गरेर बजार पठाउन अर्को दुई साता बढी समय लाग्छ । तर युद्ध शुरु भएको दुई साता पनि नपुग्दै युद्धलाई बहाना बनाएर मनोमानी मूल्य बढाउँदा उपभोक्ताको भान्छा महंगो बनेको छ ।

त्यसो त युद्धले गर्दा कच्चा पदार्थको आयात ठप्प भएको छैन् । यो अवस्थामा एक सातामै प्रतिलिटर २० रुपैयाँले मूल्य बढ्दा सरोकारवाला निकायको कुनै ध्यान गएको छैन् । बजारमा नियामक निकायको उपस्थिति कमजोर हुँदा अनेक बहाना बनाएर उपभोक्ता ठग्न पल्किएका व्यापारीलाई अहिले खानेतेलको मूल्य बढाउन युद्ध गतिलो अवसर बनेको छ ।

अझ त्यसमा पनि बजार अनुगमन र नियमनको जिम्मेवारी पाएको वाणिज्य तथा आपूर्ति मन्त्रालय नै मन्त्रीविहीन हुँदा तेलमा झेल गर्ने उद्योगी र व्यापारीहरुलाई कसले लगाम लगाउने ?