७ बैशाख २०८१, शुक्रबार

को हुन् कांग्रेस चितवन सभापति राजेश्वर खनाल ?

rajeswor khanal

कांग्रेसको १४ औं महाधिवेशनबाट चितवन जिल्ला सभापतिमा राजेश्वर खनाल निर्वाचित भएका छन् ।

कोइराला समूहबाट पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याउन सफल खनाललाई संस्थापन पक्षका उम्मेदवार मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल कांग्रेस चितवनको सभापति बनेका हुन् ।

नेता खनालले चितवनमा कांग्रेसको गुमेको विरासत फर्काउन, पार्टीलाई एकीकृत गर्दै संगठनलाई मजबुद बनाउन, समग्र चितवनलाई आर्थिक सामाजिक हरेक दृष्टिकोणबाट सबल, सक्षम बनाउन आफू जिल्ला सभापतिमा उम्मेदवारी दिएको बताउँदै आएका थिए । उनले पाँच वर्ष सभापति बन्दा कुनै पनि पदको आकांक्षी नगर्ने र सबैलाई मिलाएर लैजान र क्षमताअनुसारको अवसर दिन पनि आफूले जिल्ला सभापति उम्मेदवारी दिएको बताउँदै आएका थिए । आफ्नो घोषणा र प्रतिबद्धता अनुसार खनालले काम गरेर देखाउने अवसर पाएका छन् । उनले विभिन्न कार्यक्रममा राजनीतिलाई पेसा भन्दा पनि सेवा बनाउनुपर्छ भन्ने विचार राख्ने गर्दथे ।

को हुन् राजेश्वर खनाल ?

तनहुँको भानु नगरपालिका चुँदीमा बुबा सूर्यप्रसाद खनाल र आमा ज्ञानकुमारी खनालको कोखबाट २०२८ सालमा जन्मिएका राजेश्वर खनालको राजनीतिक यात्रा २०४१ सालबाट सुरु भएको हो । तनहुँ जिल्लाको चन्द्रावती मावि नेपाल विद्यार्थी संघको सदस्य लिएसँगै उनको राजनीतिक यात्रा सुरु भएको हो ।

विद्यालय शिक्षा लिने क्रमसँगै नेविसंघ स्कुल अध्यक्ष र तनहुँ नेवि संघ सदस्य हुँदै २०४४ सालमा वीरेन्द्र वहुमुखी क्याम्पस चितवनमा विज्ञान संकायमा भर्ना भएर नेविसंघ क्याम्पस एकाइको उपाध्यक्ष बने ।

तनहुँबाट आफ्नो राजनीतिक यात्रा पुनः चितवनमा प्रारम्भ गरेका खनालले २०४९ को स्ववियू निर्वाचनमा वीरेन्द्र वहुमुखी क्याम्पसमा सचिव , २०५१ सालमा सभापति निर्वाचित र २०५३ सालमा केन्द्रीय सदस्य भई नेवि संघको संगठनलाई अब्बल बनाउने एक सफल नेतृत्व कर्ता बने खनाल ।

नेपालगञ्ज महासमिति बैठकबाट पुनः स्थापित नेपाल तरुण दल चितवनको २०५५ सालमा सचिव र २०५९ सालमा सभापति भई नेपाली कांग्रेस चितवनको संगठन निर्माणको एक कुशल संगठनकर्ताको रुपमा खनालले पहिचान बनाए । २०४२ सालको सत्याग्रहमा तनहूँबाट, २०४६ सालको जन आन्दोलनमा चितवन र २०६२–६३ सालको लोकतान्त्रिक आन्दोलनमा काठमाडौँ गरी कुल आठ पटक प्रहरी हिरासतमा बसेका थिए खनाल । नेविसंघको नेतृत्वमा रहँदा नेवि संघको र तरुण दलमा रहँदा कांग्रेस फलाउन सक्ने एक परिपक्व संगठनकर्ता थिए उनी ।

सभापति खनाल १३ औँ महधिवेशनमा चितवन साविक क्षेत्र नं. ३ बाट सर्वोच्च मत सहित महासमिति सदस्यमा निर्वाचित भएका थिए । राजनीति जस्तै शिक्षा र समाजसेवामा पनि समान क्रियाशील राजेश्वर खनाल अर्थशास्त्र विषयमा एम.ए तथा गणित विषयमा बीएड गरेका छन् । उनले केही वर्ष मैयादेवी कन्या क्याम्पसमा अर्थशास्त्र विषय प्राध्यापन पनि गर्दै आएका थिए । करिब १६ वर्षको शैक्षिक अनुभवको क्रममा उनी चितवनको प्रतिष्ठित नारायणी ई. पब्लिक स्कुल तथा भरतपुर भ्याली कलेजको अध्यक्षसँगै हिसानको केन्द्रीय सदस्य भए ।

सामाजिक क्षेत्रमा रेडक्रस, रोटरी, भ्रष्टाचार विरुद्ध अभियान, क्षयरोग, परिवार नियोजन संघ, मितेरी फाउण्डेसन, नारायणी विकास समाज, गौं संरक्षण केन्द्र, प्रजातान्त्रिक विचार समाज, मैयाँदवी कन्या कलेजजस्ता संस्थाहरूमा आबद्ध भएका खनाल चितवनमा प्रभावशाली नेताको रुपमा आफ्नो छबी उच्च बनाएका छन् ।

नेपाली कांग्रेस भरतपुर महानगरपालिका ११ का क्षेत्रीय प्रतिनिधि भोजराज न्यौपानले चितवनले अहिलेसम्मका सभापतिहरु मध्ये प्राज्ञिक स्तर उच्च भएका व्यक्तित्वको रुपमा खनाललाई पाएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ खनाल युवा, गतिशिल र वैचारिक नेता हुन् । उनको सामु आगामी स्थानीय निर्वाचनमा सबै स्थानीय तह जिताउने अभिभारा आएको छ । नेपाली कांग्रेसमा कसैलाई काखा र कसैलाई पाखा नगरी उनी अगाडि बढ्नेछन् भन्ने हामी सबैको आशा छ ।’