१२ बैशाख २०८१, बुधबार

नेम्वाङको आक्रोस: एमालेले चुनौति मोलेर बनाएको नेपालको चुच्चे नक्सा देउवाले गायव पार्नुभयो

Sher B deuba and subas chandra nemwang
फाइल फोटो

नेकपा एमालेका उपाध्यक्ष सुवाष नेम्वाङले आफ्नो पार्टीले ठूलो चुनौति मोलेर बनाएको नेपालको चुच्चे नक्सा प्रधानमन्त्री शेरबहादुर देउवाले गायब बनाएको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।

प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेम्वाङले भने, ‘म अन्तिममा जोड्न चाहन्छु–यो देशको राष्ट्रियताको सन्दर्भमा लडाई लड्ने सिलसिलामा लिपुलेक, लिम्पियाधुराको चुच्चे नक्शा हामीले बनायौं ।

यो कम ठूलो कुरा थियो ? कम्ति चुनौती थियो यसमा ? एउटै कुराबाट थाहा हुन्छ, यो पछिल्लो सरकारले हामीले सरकारको १०० दिनको काम सार्वजनिक गर्ने बेलामा सार्वजनिक गरेको चुच्चे नक्शा गायब बनाएको छ ।

यो सरकारले सय दिनको काम सार्वजनिक गर्ने बेलामा हेर्नुस् त ? त्यहाँ नेपालको लोगो छ । तर लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे नक्शा गायव छ । अब हाम्रो लागि र नेपाली जनताको लागि त्यो चुच्चे नक्सा कति प्रिय छ ? तर प्रधानमन्त्री शेरबहादुर देउवाले सो नक्सा नै गायव पार्नुभयो ।’

यस्तै उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति समेत जनाएका छन् ।

सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागिपरेको आरोप लगाएका छन् । संविधानसभाका अध्यक्ष समेत रहेका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरुले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको बताए ।

उपाध्यक्ष नेम्वाङले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै केही साथीहरु निर्वाचन भनेपछि किन डराउछन् ? भनि प्रश्न समेत गरे । उनले भने, ‘केही साथीहरु किन जनतामा जानेभन्दा डराउँछन् ? प्रतिगमन भन्छन् । जनतामा जाने भनेको डराउँछन् । भरसक जनतामा जाने मिति पर सार्छन् ।

यहाँहरुलाई थाहा छ– त्यसैले म दोहोर्याउन्न चाहन्न । बल्लबल्ल तपाईँ–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ ।’