६ बैशाख २०८१, बिहीबार

द्रुत मार्गमा सुरुङ खन्न सुरु

surung marg

काठमाडौँ–तराई/मधेस द्रुत मार्गमा पर्ने सुरुङ मार्गको निर्माण सुरु भएको छ । द्रुत मार्गमा तीनवटा सुरुङ बन्ने डिजाइन गरिएको छ । द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाका अनुसार द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्गको डिजाइन सम्पन्न भई स्वीकृतसमेत भइसकेको छ ।

सैनिक प्रवक्ता नारायण सिलवालले सुरुङ मार्गका दुइटै प्याकेजको डिजाइन तथा ड्रइङ स्वीकृत भई साइट क्लियरेन्स र प्रिपे्रसन तथा क्याम्प स्थापना गरी अहिले सुरुङ मार्ग निर्माण सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार अबको तीन वर्षभित्र सुरुङ मार्गको निर्माण सम्पन्न हुनेछ ।

दुई चरणमा निर्माण गरिने सुरुङ तथा मोटरेबल पुल निर्माणका लागि गत वैशाख ३१ गते नेपाली सेनाले दुईवटा चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । सुरुङको प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन र प्याकेज–२ का लागि पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार दुईवटै प्याकेजको निर्माण तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।

उहाँका अनुसार द्रुत मार्गमा पर्ने कुल ६.०७ किलोमिटरको तीन खण्डका सुरुङ मार्ग तथा पुल मार्ग (हाई ब्रिज) दुई प्याकेजमा निर्माण गरिँदै छ । पहिलो प्याकेजअन्तर्गत आयोजनाको सबभन्दा लामो सुरुङ मार्ग महादेवडाँडा खण्डमा निर्माण गरिँदै छ । यस खण्डमा निर्माण गरिने सुरुङ मार्ग र हाई ब्रिजको कुल लम्बाइ ३.३०० किलोमिटर रहेको छ ।

त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत धेद्रेको सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७० किलोमिटर र लेनडाँडाको घट्टेपाखादेखि बाँदरेखोल्सीसम्मको सुरुङ मार्ग र हाई ब्रिज निर्माण गरिँदै छ । यस प्याकेजअन्तर्गत कुल १.४०० किलोमिटर सुरुङ मार्ग र हाई ब्रिज निर्माण गरिनेछ ।

पहिलो र दोस्रो प्याकेजको निर्माण लागत क्रमशः करिब २१ अर्ब ६१ करोड र २८ अर्ब ५३ करोड रुपियाँ रहेको छ । द्रुत मार्ग निर्माणको कुल लागत एक खर्ब ५५ अर्ब तीन करोड ८५ लाख ६५ हजार रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

आयोजनाका अनुसार द्रुत मार्गको सडकखण्ड खन्ने र पुर्ने (कटिङ र फिलिङ) काम ८८ प्रतिशत सम्पन्न भएको तथा सुरुङ र पुलबाहेक निर्माण गर्नुपर्ने सडकखण्डको कालोपत्रेपूर्वको अधिकांश काम सम्पन्न भइसकेको छ ।

कुल ७२.५ किलोमिटर लम्बाइको उक्त द्रुत मार्गमा निर्माण गर्नुपर्ने ५५.५ किलोमिटर सडकमध्ये ४४.१ किलोमिटरमा कालोपत्रे गर्नुपूर्वका सबै काम (सब ग्रेड लेबल) सम्पन्न भइसकेको छ । द्रुत मार्गमा ६.४१ किलोमिटर सुरुङ र १०.५९ किलोमिटर उच्च पुल पर्छ ।

सडकमा बाटो काट्न छवटा आकाशे पुल पनि बन्नेछन् । द्रुत मार्गमा न्यूनतम ६५ देखि १२० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउन सकिनेछ ।

चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले २०७४ साउन २७ गते द्रुत मार्गको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो । २०८१ पुसभित्र द्रुत मार्ग निर्माणको सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्यसहित द्रुत गतिमा काम भइरहेको प्रवक्ता सिलवालले बताउनुभयो ।