११ बैशाख २०८१, मंगलवार

नेपालको गौरव पाशुपत क्षेत्र

PM Deuba President Bhandari

राष्ट्रपति विद्यादेवी भण्डारीले पुर्खाको नासोका रूपमा प्राप्त सबै सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु वर्तमान पुस्ताको दायित्व भएको बताउनुभएको छ ।

महाशिवरात्रि पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले बागमती नदीलाई स्वच्छ र सफा राखिरहनका लागि सबैलाई प्रेरणा मिल्ने विश्‍वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई महाशिवरात्रि पर्वले थप उजागर गरेको बताउनुभएको छ ।

उहाँकोे सन्देशमा शिवोत्पत्ति भएको विश्‍वास गरिने मानसखण्डको भूभाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु नेपालीका लागि गौरवको विषय भएको उल्लेख गरिएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले दिनुुभएको सन्देशमा यस पावन पर्वको माध्यमबाट नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुुभएको छ ।

उहाँले मङ्गलबार नै नेपाली सेना दिवस पनि परेकाले प्रधानसेनापतिसहित सकल दर्जामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय एकताको आधार : प्रम

प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रि पर्व राष्ट्रिय एकताको आधारस्तम्भका रूपमा स्थापित भएको बताउनुभएको छ ।

नेपालीको महान् पर्व महाशिवरात्रिका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले धार्मिक पर्वहरूको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्नुपर्ने आजको आवश्यकता भएको पनि बताउनुभएको छ ।

उहाँले सन्देशमा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं संवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको र यहाँ हरेक जातजातिका आआफ्ना रीतिरिवाज, चाडपर्व र संस्कृति भएको उल्लेख गर्नुभएको छ ।

उहाँले राष्ट्रिय एकता र संस्कृतिको पर्व महाशिवरात्रिले नेपालीहरूबीचको आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पु¥याउने विश्वास पनि व्यक्त गर्नुभएको छ ।