१६ चैत्र २०८०, शुक्रबार

चर्कियो सुर्खेतमा एमसीसी विरोधी प्रदर्शन, मंगलवार साँझसम्म वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी

andolan 1

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोधी प्रदर्शन चर्किएको हो । प्रदर्शनकारी तोडफोडमा उत्रन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको छ ।

सोमबार बिहान ६ बजेदेखि नै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सडकमा नाराबाजी गरेका बन्दकर्ताले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।