१४ बैशाख २०८१, शुक्रबार

सप्तरीका एक युवकले बनाए बिजुलीबाट चल्ने मोटरसाइकल

motor

सप्तरीका एक युवकले बिजुलीबाट चल्ने मोटरसाइकल बनाएका छन् । मोटरसाइकलले एक सय किलोमिटर यात्रा गर्दा दुई युनिट मात्र ऊर्जा खपत गर्ने बताइएको छ ।

हनुमान नगर कंकालिनी नगरपालिका–१ भारदहका २० वर्षका मौसमकुमार झाले निर्माण गरेको मोटरसाइकल अगाडि मात्र होइन, पछाडि पनि कुदाउन सकिने छ ।

मोटरसाइकल बनाउन झालाई दुई साता लाग्यो । ‘एक महिना सामानको जोहो गर्नै लाग्यो’ झा भन्छन्, ‘त्यसपछि दुई सातामै निर्माण भयो ।’

विराटनगरको मनमोहन मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियर अध्ययन गर्ने उनी हालै कोरोनाका कारण एक महिना कलेज बन्द भएपछि गाउँ फर्किएका थिए । त्यही बेला उनले बिजुलीबाट चल्ने मोटरसाइकल बनाएका हुन् ।

उनले सप्तरी स्थित रुपनीको एक ग्यारेजमा बिग्रेर थन्किएको मोटरसाइकलको चेचिस ल्याए । त्यसलाई आफैँ मर्मत गरे, टायर, चेन, ब्याट्री लगायतका सामान किने । ट्याङ्की भने आफैँ निर्माण गरे । यसपछि सुरु गरे फिटिङको काम ।

मोटरसाइकलमा ब्याट्रीबाट कन्ट्रोलरले शक्ति तान्ने गरी सेटिङ मिलाए । यसपछि कन्ट्रोलरले चेन घुमाउने र चेनले टायर घुमाएर मोटरसाइकल चल्ने बनाए ।

मोटरसाइकलमा एउटा रिभर्स राखिएको छ, जसले चक्कालाई अगाडि र पछाडि दुबैतिर घुमाउँछ । त्यसका निम्ति झाले एउटा स्विच राखेका छन्, जुन एकतिर घुमाए अगाडि र अर्कोतिर घुमाए पछाडि गुड्छ ।

मोटरसाइकलमा १ हजार वाटको मोटर, ४८ वाटको ब्याट्री जडान गरिएको छ भने टयांकीमा कन्ट्रोलर राखिएको छ ।

६० किलोमिटर प्रति घण्टाको गतिमा गुड्न सक्ने यो मोटरसाइकल अरू मोटरसाइकल भन्दा केही फरक देखिन्छ । मोटरसाइकलको उपकरण किन्दा १ लाख २५ हजार रुपैयाँ खर्च भएको उनको भनाइ छ ।