१३ जेष्ठ २०७९, शुक्रबार

अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु निष्क्रिय पारेसँगै यातायात चल्यो

PL Banepa 0280 1024x682 1

काभ्रेपलान्चोकको बनेपा बजार नजिकै पुलबजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ ।

आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुलबजारमा शङ्कास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो । शङ्कास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै ९.३० बजेबाट यातायात चलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले सो शङ्कास्पद वस्तु राखेको व्यक्ति पक्राउ गरिसकेको बताउनुभयो ।

अनुसन्धानको क्रममा शङ्कास्पद बस्तु राखेर भागेको व्यक्ति महाभारत गाउँपालिका–६ स्थित लामाटोल बस्ने युगान्त थिङ र अर्का विवेक थिङलाई पक्राउ गरिएको छ ।

बिहान राजमार्गमा शङ्कास्पद वस्तु राखेर भागेको अवस्थामा सिसिटिभिको फुटेजको सहायताले उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०२–०२७ प ८७७४ नं को मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरी प्रमुख जोशीले बताउनुभयो ।