
तिब्बतसँग सिमाना जोडिएको दोलखाको दुर्गम लप्ची गाउँका बालबालिकाहरू विद्यालयको नहुँदा पढाइको लागि काठमाडौँ जान बाध्य भएका छन् ।
पढाइको लागि दुई दिन हिँडेर लामाबगर आउनुपर्ने भएपछि लप्ची गुम्बा व्यवस्थापन समितिले त्यहाँ बालबालिकालाई काठमाडौँको विद्यालयमा भर्ना गरिदिएको छ ।
दोलखाको विगु गाउँपालिका वडा नम्बर १ मा पर्ने लप्चीमा ४६ घर धुरी रहेको छ । त्यसमध्ये १३ घर धुरीका मानिस चौरी पालन व्यवसाय गरेर लप्चीमै बसोबास गर्दै आएका छन् ।
१३ घर धुरीका १५ बालिका र दुई बालक गरी १७ बालबालिकालाई लप्ची गुम्बा व्यवस्थापन समितिको सक्रियतामा काठमाडाँै बौद्धस्थित सङतेन विलिबुटी माविमा पढाइको लागि भर्ना गरिएको समितिका अध्यक्ष कर्मा शेर्पाले बताउनुभयो ।
लप्चीमै चौरीपालन गरेर बस्ने स्थानीयको बालबालिकालाई स्वदेशी तथा विदेशी आफन्त, पर्यटक र गुरुहरूको सहयोगमा लप्ची गुम्बा व्यवस्थापन समितिले पढाइको व्यवस्था गरेको अध्यक्ष उहाँको भनाई छ ।
उनीहरूलाई काठमाडौँमा बस्नको लागि समितिको काठमाडौँमा रहेको कार्यालयमा व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
लप्चीका बासिन्दा पुसदेखि चैत्रसम्म लुम्नाङमा बस्ने गर्छन् । वैशाखदेखि मङ्सिरसम्म भने लप्चीमै बस्ने समितिका अध्यक्ष कर्मा शेर्पाले बताउनुभयो ।

२०७२ सालको भूकम्पअघि लुम्नाङमा प्राथमिक विद्यालय भएकोले चार महिना लुम्नाङ झरेको बेला बालबालिकाहरूले उक्त विद्यालयमा पढ्ने गरेका थिए । लप्ची गएपछि भने शिक्षकहरू जान नसक्ने भएकोले पढाई बन्द हुने गरेको थियो
२०७२ सालको भूकम्पले विद्यालय भवन भत्किएपछि भने पढाई हुन छोडेकोले समितिले सन् २०१५ बाट काठमाडौँमा लगेर पढाउन थालेको अध्यक्ष कर्माले बताउनुभयो ।
लप्चीमा बसेर मेहेनत साथ चौरी पालन व्यवसाय गर्ने स्थानीयको बालबालिकाले पढ्न नसक्ने र पढाइको अभावमा लप्ची गुम्बामा स्थानीयको सहभागिता नदेखिने भएकाले पनि समितिले काठमाडौँमा लगेर पढाउन थालेको अध्यक्ष कर्माको भनाई छ ।
विगु गाउँपालिका तथा सरकारले लप्चीमै विद्यालयको व्यवस्था गरेर स्थानीयको बालबालिकालाई गाउँमै पढ्ने व्यवस्था गरिदिनुपर्ने उहाँ बताउनुहुन्छ ।