१४ बैशाख २०८१, शुक्रबार

सुरक्षित युक्रेनमा १९३ नेपाली, स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै नेपाल फर्किन आग्रह- यी हुन् सम्पर्क गर्ने हटलाइन

6219af1a18943 file 1024x576 1

नेपाली राजदूतावास बर्लिनले युक्रेनमा रहेका १९३ नेपाली नागरिक सुरक्षित रहेको जनाएको छ । शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै दूतावासले युक्रेनमा उत्पन्न पछिल्लो संकटपछि त्यस मुलुकका विभिन्न शहरमा रहेका नेपाली दूतावसको निरन्तर सम्पर्क गरिरहेकाे र १९३ नेपाली सम्पर्कमा रहेको बताएको छ ।

दूतावसले युक्रेनसँग सीमा जोडिएका छिमेकी मुलुकहरु गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरुलाई मानवीयताका आधारमा आफ्नो मुलुकमा प्रवेशका लागि नाका खुला रहेको पनि दूुतावासले जनाएको छ ।

सुरक्षित तवरले ती नाका हुँदै नेपाल फर्किन सबै नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ । साथै नाका प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमतिपत्र सम्बन्धमा कुनै समस्या भएमा वा तत्काल यात्रा अनुमतिपत्र आवश्यक पर्ने भएमा आफ्नो नेपाली राहदानीको फोटोकपी–१ र डिजिटल फोटो–१ नेपाली राजदूतावास, बर्लिनमा उपलब्ध गराउन तथा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

त्यस्तै, सीमा नाकाबाट प्रवेश गरिसके पश्चात कुनै समस्या गैर आवासीय नेपाली संघ वा नेपाली सदूदायका नेतृत्वकर्ता वा अगुजाहरुलाई सम्पर्क गर्न सकिने पनि दूतावासले जनाएको छ ।

दूतावासले स्लोभाकिया पुगेपछि ००४२१९४०७७८५९४४ नम्बरमा जय प्रसाद शिवाकोटी, पोल्याण्ड पुगेपछि ००४८६०६८५२८३७ नम्बरमा मा डा। बोधराज सुवेदी र ००४८७२९२१२६७३ नम्बरमा जीवन कुमार क्षेत्री र हंगेरीमा ००३६७०५३०८७९३ मा सुरेन्द्र श्रेष्ठलाई सम्पर्क गर्न भनेको छ । 

रुसले गत बिहीबारबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि त्यहाँ रहेका नेपालीको उद्धारमा सरकार जुटेको हो । युक्रेनमा हवाई उडन निषेध गरिएका कारण त्यहाँ रहका विदेशीको उद्धार हुन सकेको छैन । 

यसैक्रममा स्वदेश फर्कन चाहने विदेशीको लागि छिमेकी स्लोभाकिया, पोल्याण्ड र हंगेरीले सीमा खुला गरिदिएपछि स्थल मार्गबाट उद्धार प्रक्रिया अघि बढाइएको हो । 

युक्रेनमा रहेका १९३ नेपाली जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । उनीहरु सबै हालसम्म सुरक्षित रहेको दूतावासले जनाएको छ । 

दूतावासका अनुसार स्थायी रुपमा बसोबास गर्ने ३८ जना र युरोप र अमेरिका जाने क्रममा रहेका करिव २ सय नेपाली युक्रेनमा रहेका छन् । गैरआवासीय नेपाली संघले भने युक्रेनमा करिव ४ सय नेपाली रहेको बताएको छ ।