२० बैशाख २०८१, बिहीबार

महँगो मूल्य चुकाउनुपर्ने चेतावनी, युक्रेनमाथि गरेको आक्रमणमा १ सय ३७ जनाको निधन

russia attack

रुसले युक्रेनमाथि गरेको आक्रमणमा १ सय ३७ जनाको निधन भएको छ ।

पहिलो दिनको आक्रमणमा सैनिक र गैरसैनिक गरी १ सय ३७ जनताले ज्यान गुमाएको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जनाए । रुसले शुरू गरको आक्रमणपछि राजधानी किएभ लगायत अधिकांश शहरका मानिसहरू भाग्न खोजिरहेका छन् ।

आक्रमणपछि एक लाख जना सुरक्षित स्थानतर्फ गएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

यसैबीच राष्ट्रपति जेलेन्स्कीले देशमा सेना परिचालनको आदेश दिएका छन् । युक्रेनको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै जनताले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ। जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने आदेश जारी भएको छ।

रुसले स्थानीय समय अनुसार बिहीबार बिहानै पूर्वी, उत्तरी र दक्षिणतर्फबाट हवाई, स्थल र जलमार्गबाट युक्रेनमाथि आक्रमण थालेको थियो । रुसी आक्रमण लगत्तै अमेरिका तथा बेलायतले नयाँ प्रतिबन्धको घोषणा गरे ।

अमेरिका, बेलायत लगायतका पश्चिमा राष्ट्रले आक्रमणको निन्दा गरेपनि सेना भने नपठाउने निर्णय गरेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो कदमको बचाउ गर्दै रुसलाई बचाउने अर्को उपाय नभएको बताए ।

तर अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनको कदमपछि रुसले महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।