६ बैशाख २०८१, बिहीबार

स्वतन्त्र राज्यको मान्यता रुसद्वारा युक्रेनको पृथकतावादीको पकड क्षेत्रलाई

putin

रूसले यूक्रेनका पृथकतावादीहरुको पकड क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको मान्यता दिएको घोषणा गरेका हुन् । घोषणालगत्तै पुटिनले डोनेस्क र लुहान्स्कमा रुसी सेनालाई शान्ति सेनाको काम गर्न निर्देशन दिएका छन् ।

स्वघोषित जनगणराज्यहरु डोनेस्क र लुहान्स्कमा रुस समर्थित विद्रोहीले सन् २०१४ देखि युक्रेनी सेनासँग लडिरहेका छन् । टेलिभिजन सम्बोधनमा पुटिनले आधुनिक युक्रेनलाई सोभियत रुसले सिर्जना गरेको र युक्रेनलाई प्राचीन रुसी भूमि भनेका छन ।

उनले सन् १९९१ मा सोभियत संघको पतन हुँदा रसियालाई लुटिएको भन्दै युक्रेनलाई एक कठपुतली सरकारद्वारा सञ्चालित अमेरिकी उपनिवेश भएको आरोप लगाए ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका छन् भने अमेरिका, फ्रान्स र स्पेनका नेताहरूसँग कुराकानी गरेका छन् ।

युरोपियन युनियनले युक्रेनसँग एक भएर घटनाको दृढतापूर्वक सामना गर्ने जनाएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी कदम युक्रेनको सार्वभौमसत्ता र अखण्डताको र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको बताएका छन्।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रुसी निर्णय अनुचित र अस्वीकार्य भएको बताएका छन् । रूसको यो निर्णयले शान्ति वार्ताको सम्भावना समाप्त पार्ने र रुसी सेनालाई युक्रेनको पूर्वी क्षेत्रमा प्रवेश गर्न मार्ग प्रशस्त गर्ने पश्चिमा मुलुकहरुको आशंका छ ।

रुसले युक्रेनको सीमामा डेढ लाख सेना तैनाथ गरेको छ । तर आक्रमणको कुनै योजना नरहेको जनाउँदै आएको छ ।