१३ बैशाख २०८१, बिहीबार

फर्किने र प्रवेश गर्ने लहर चलेको छ माओवादी केन्द्रमा: अध्यक्ष प्रचण्ड

sthai kamiti baithak maoist scaled
फाइल फोटो

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले भन्नुभयो,“देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ ।”अध्यक्ष प्रचण्डले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एकपटक फेरि फैलिएको उल्लेख गर्नुभयो । मधेशमा मात्रै नभइ देशैभर माओवादीप्रति जनताको नयाँ उभार देखिएको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेस र (नेकपा एमाले)का करिब दुई दर्जन नेता तथा कार्यकर्तालाई आज माओवादीमा प्रवेश गराउँदै उहाँले सो कुरा बताउनुभएको हो । नवप्रवेशीलाई अध्यक्ष प्रचण्डले आज एक कार्यक्रमकाबीच अबिर र खादा लगाई पार्टीमा स्वागत गर्नुभएको हो । उनीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने उहाँको भनाइ थियो ।

यसरी प्रवेश गर्नेहरुमा नेकपा एमालेमा रहनुभएका रौतहट जिल्ला मौलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता छन् ।

त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील सदस्य जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्टलगायत माओवादीमा प्रवेश गर्नुभएको थियो ।