८ बैशाख २०८१, शनिबार

दुई नेता भेटमा आ–आफ्नो अडान कायमै

deuba prachanda
फाइल फोटो

अमेरिकी सहयोग परियोजना (एमसिसी) प्रतिनिधिसभाका पेश गर्ने विषयलाई लिएर कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान छलफल भएको छ ।

भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी पेश गर्ने विषयमा निर्णय लिन आज बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक बस्नुअघि दुई नेताबीच छलफल भएको हो ।

संसदमा एमसिसी पेश गर्ने विषयमा निर्णायक छलफलका लागि आजै सत्ता गठबन्धनको बैठक समेत बोलाइएको छ । दिउसो ३ बजेका लागि बोलाइएको सत्ता गठबन्धनको बैठक अपराह्न ५ बजेका लागि सारिएको छ ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच बिहान भएको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायमै रहेकाले कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ ।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा आगामी प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल गर्ने पक्षमा हुनुहुन्छ भने माओवादी अध्यक्ष प्रचण्डलगायत सत्ता गठबन्धनका अन्य दलहरू सहमति कायम गरेर मात्र संसदमा पेश गर्नुपर्ने पक्षमा छ ।

माओवादीले यथास्थितिमा एमसिसी टेबल भए विपक्षमा मतदान गर्ने र सरकारबाट पनि बाहिरिने चेतावनी दिएको छ भने गठबन्धनकै दल राष्ट्रिय जनमोर्चा यसअघि नै एमसिसीको विपक्षमा आन्दोलित भइसकेको छ ।