
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टी प्रधानन्यायाधीशबाट निलम्बित चोलेन्द्र शमशेर जबरालाई बोकेर हिँड्ने पक्षमा नरहेको बताएका छन्।
आज आयोजित एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले राखेको धारणा बैठकपछि प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका हुन्।
उनले बैठकमा भीम रावल, घनश्याम भुसाल, गोकुल बाँस्कोटा, महेश बस्नेत, विमला विश्वकर्मालगायत सांसदले हिजो मात्रै प्रधानन्यायाधीशविरुद्ध दर्ता महाभियोग र एमसीसीका विषयमा आआफ्ना धारणा राखेको बताए। त्यसमा जवाफ दिँदै ओलीले आफूहरू चोलेन्द्र शमशेर बोक्ने पक्षमा नरहेको बताएका हुन्।
अध्यक्ष ओलीले राखेको धारणाको सार सुनाउँदै भट्टराईले भने, ‘अहिले प्रधानन्यायाधीश चालेन्द्र शमशेरविरुद्ध आएको महाभियोग– यो निर्वाचनलाई जसरी पनि सार्न खोज्ने वा टार्न खोज्ने, एमसीसी जसरी पनि सत्तारुढ गठबन्धनका तर्फबाट पारित गर्ने। र, लोकतन्त्रमाथि निरन्तर हमला गरिरहने यो उहाँहरू (सत्ता गठबन्धन) को महत्त्पूर्ण प्रवृत्तिका रूपमा आएको छ।
यसलाई व्यक्ति विशेषलाई गरिएको आक्रमणका रूपमा नबुझेर प्रधानन्यायाधीशप्रति हामी सकारात्मक भएको, उहाँले राम्रो काम गर्नुभएको छ। उहाँलाई हामीले बोकेरै हिँड्नुपर्छ। उहाँलाई जोगाउनुपर्छ भन्ने मनशाय नेकपा एमालेको बिलकुलै छैन।’