१३ बैशाख २०८१, बिहीबार

रेफ्रीकाे जस्तो मात्रै आफ्नो भूमिका, दलहरूकाे भूमिका महत्वपूर्ण : सभामुख सापकाेटा

agni sapkota
फाइल फोटो

सभामुख अग्नि सापकोटाले बाेलाउनुभएकाे सर्वदलीय बैठक सम्पन्न भएकाे छ । बैठकपछि सभामुख सापकाेटाले एमसीसीका सम्बन्धमा आफ्नो भूमिका रेफ्रीकाे जस्तो मात्रै भएको बताउनुभएकाे छ ।

बैठकमा एमसीसी र अवरुद्ध संसद् खुलाउने विषयमा छलफल भएको सभामुख सापकाेटाले बताउनुभयाे । उहाँले दलहरुबीच सहमति भए आफूले एमसीसी अघि बढ्नबाट नरोक्ने भन्दै आफ्नो भूमिका रेफ्रीकाे जस्तो मात्रै भएको प्रतिक्रिया दिनुभयाे ।

‘एमसीसीका सम्बन्धमा म अम्पायरमात्रै हो । दलहरू सहमत भए म रोक्दिन’, सभामुख सापकोटाले भन्नुभयाे, ‘आजको बैठक विशेष भएको छ । संसद्को अवरोध हटाउने विषयमा नेताहरूले पहल गर्नुहुनेछ।’

‘राजनीतिक दलका नेताहरूले प्रतिपक्ष दललाई सहमतिमा ल्याउनु हुन्छ र शीर्ष नेताहरूले संसद् सुचारु गर्नका लागि पहल गर्नुहुनेछ भन्ने मैले बिश्वास लिएको छु’ सभामुख सापकोटाले भन्नुभयाे ।

‘म ओपन माइन्ड छु । सबैका कुरा गम्भीरतापूर्वक सुनेको छु । सभामुखको हैसियतले निर्णय गर्नुपर्छ म त्यो गर्छु’ सभामुख सापकोटाले आफूले सभामुखको हैसियतमा जिम्मेवारी निर्वाह गर्ने दाबी गर्नुभयाे ।

सभामुख सापकाेटाले भन्नुयभाे ‘नागरिकता विधेयकलगायत महत्त्वपूर्ण विधेयकहरू अड्किएका छन् विधेयकलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल भएको छ’, उहाँले थप भन्नुभयाे, ‘तर प्रमुख प्रतिपक्ष सहभागी भएन यो दुर्भाग्य हो ।’

प्रमुख प्रतिपक्षी दलले लगातार संसद् अवरुद्ध गर्नु गैरकानुनी, असंवैधानिक र गलत भएकाे र यसले लोकतन्त्रलाई आँच पुर्‍याउने काम गरेको उहाँकाे भनाइ थियाे ।