१३ बैशाख २०८१, बिहीबार

भारतले पठाएको बेलुन दार्चुलामा खस्यो, स्थानीय त्रसित

belun

दार्चुलाको नौगाड गाउँपालिका –३ ढामडेरामा भारतीय नम्बर लेखिएको बेलुन भेटिएपछि स्थानीय त्रसित बनेका छन् । नेपाली आकाशमा भारतीय हेलिकोप्टर उड्ने गरेको जानकारी पाएका स्थानीयहरु भारतीय मौसम विभागको नाम र नम्बर लेखिएको बेलुन भेटेपछि त्रसित बनेका हुन् ।

नौगाडमा भेटिएको बेलुनसहितको उपकरण भारतीय मौसम विभागले पठाएको पुष्टि भएको छ । मौसमसम्बन्धी जानकारी संकलनका लागि देहरादूनस्थित मौसमविज्ञान केन्द्रले बेलुनमा उपकरण राखेर उडाएको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

उत्तराखण्डको मौसमबारे जानकारी संकलनका लागि बेलुनसहितको उपकरण पठाएको मौसमविज्ञान केन्द्र देहरादूनले पुष्टि गरेको छ । हावा कुन दिशातिर बहिरहेको छ, त्यसको गति कति छ भनेर पत्ता लगाउन डिभाइससहितको बेलुन पठाएको भए पनि हावाको चापले बेलुन नेपाली सीमामा पुगेको मौसमविज्ञान केन्द्र देहरादूनका असिस्टेन्ट अनुराग नेगीले जानकारी दिनुभयो ।

३२ ग्रामको बेलुन हुन्छ, हावाको दिशाअनुसार जाने हो, मौसमविज्ञान केन्द्र देहरादूनका अस्सिटेन्ट नेगीले भन्नुभयो । त्यसमा भएको डिभाइसमार्फत हामीले मौसमसम्बन्धी सूचना पाउने हो । बेलुन उडाएपछि त्यसलाई देहरादूनबाटै नियन्त्रण गर्न सकिने प्रविधि नभएको उहाँको भनाइ छ ।

शुक्रबार भारतीय बेलुन दार्चुलाको नौगाडमा खसेपछि त्यसमा भएको नम्बरमा स्थानीयले फोन लगाएका थिए । मौसमसम्बन्धी जानकारी संकलनका लागि आफूहरुले बेलुन पठाएको जवाफ भारतबाट प्राप्त भएको स्थानीयले बताएका छन् । यसअघि दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भारतले मौसमसम्बन्धी तथ्याङ्क संकलनका लागि बेलुन पठाएको बुझिएको प्रतिक्रिया दिनुभयो ।