१६ चैत्र २०८०, शुक्रबार

शीर्ष नेतालाई एमसीसी पारित गराउन धम्क्याउनु अमेरिकी साम्राज्यवादको ठाडो हस्तक्षेप: वैद्य

Mohan Baidhya kiran
फाइल फोटो

नेकपा क्रान्तिकारी माओवादीले एमसीसी परियोजना अनुमोदन गर्न नेताहरूलाई धम्क्याउनु सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथि अमेरिकी साम्राज्यवादको ठाडो र नाङ्गो हस्तक्षेप भएको बताएको छ ।

महासचिव मोहन वैद्य किरणले एक विज्ञप्ति जारी गर्दै अमेरिकी दादागिरीको प्रतिरोध गर्न दलहरु उदासीन हुनु दुखद रहेको उल्लेख गर्नुभएको छ ।

भनिएको छ, अमेरिकी साम्राज्यवादी शासक वर्गले हिन्द–प्रशान्त रणनीति अन्तर्गतको एमसीसी परियोजनालाई नेपालको संसद्बाट अनुमोदन गराउन चर्को दबाब दिँदै आएको छ ।

त्यसले मात्र नपुगी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले पुनः अस्ति माघ २७ गते नेपाली काँग्रेसका सभापति तथा गठबन्धन सरकारका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रत्यक्ष फोनबाट तोकिएको सीमाभित्र एमसीसी परियोजना संसद्बाट अनुमोदन गर्नु पर्ने र सो नगरे चीनको दबाबका कारण अनुमोदन हुन नसकेको भनी बुझ्ने भनेर शीर्ष नेताहरूलाई धम्क्याइएको कुरा अमेरिकी साम्राज्यवादको दादागिरी र एउटा सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथिको ठाडो र नाङ्गो हस्तक्षेप हो ।

अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप हुँदा पनि त्यसको प्रतिवाद गर्नुको साटो नेपाली काँग्रेससको केन्द्रीय कार्यसमितिको बैठकले एकमतले एमसीसी परियोजनालाई अनुमोदन गर्ने निर्णय गर्नु अमेरिकी साम्राज्यवादको तावेदारी गरेको ठहर हुनु वैद्यको जिकिर छ ।

एमाले र माओवादी केन्द्रले पनि यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएर अमेरिकी हस्तक्षेपप्रति मौन स्वीकृति जनाएको उहाँको भनाइ छ । यो नेपालका शासक वर्गको अमेरिकी साम्राज्यवादप्रतिको चरम दलालीको अभिव्यक्ति भएको पनि विज्ञप्तिमा उल्लेख छ ।