१७ बैशाख २०८१, सोमबार

नेपालमा गाँजालाई औषधिजन्य प्रयोग गर्न दिने सरकारको तयारी

gaja nepal

गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित रहने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो ।

हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको हो । तथापि औषधिको प्रयोजनका लागि अनुसन्धान गर्ने अनुमति उक्त ऐनमै रहे पनि कार्यविधि नबन्दा सो प्रावधान लागू हुन सकेको छैन ।

गृह मन्त्रालयले गत सोमबार सार्वजनिक गरेको ‘गृह प्रशासन सुधार कार्ययोजना २०७८’मा गाँजालाई औषधिको प्रयोजनका लागि प्रयोग गर्न कार्यविधि बनाएर स्वीकृति दिने उल्लेख गरेको थियो ।

मन्त्रालयले कार्यविधि तयार गरी औषधिजन्य प्रयोगको बाटो खोले पनि प्रतिबन्ध नै फुकुवा गर्न भने ऐन संशोधन वा नयाँ तर्जुमा गर्नुपर्ने हुन्छ । त्यसको निर्माणको प्रक्रियासमेत अघि बढाउने तयारी सरकारले गरेको छ ।

गृह मन्त्रालय मातहतको लागूऔषध नियन्त्रण शाखाले गाँजालाई औषधिका रूपमा कसरी प्रयोग गर्न सकिन्छ भनेर विभिन्न सरोकारवाला निकायसँग परामर्शसँगै मापदण्ड निर्माणको तयारी पनि गरेको छ । उक्त शाखाका प्रमुख, उपसचिव गोकर्णप्रसाद उपाध्यायसहितको टोलीले यसका सम्भावना र त्यसले पार्ने प्रभावबारे अध्ययन गरिरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि नेपालले कार्यविधि तयारीको चरणमा रहेको जानकारी दिनुभयो । उहाँले ऐनमा अनुसन्धान तथा अध्ययनको प्रावधान भए पनि कार्यविधि नबन्दा स्वीकृति दिन नमिलेको बताउनुभयो ।

नेपालले भन्नुभयो, “गृहसहित सम्बन्धित मन्त्रालयसँग छलफल गरेर गाँजाको प्रयोग कसरी गर्ने भन्नेबारे कार्यविधि तयार हुन्छ ।” उहाँले निर्देशिका पनि तयार हुने क्रममा रहेको जानकारी दिनुभयो ।

राजस्व अनुसन्धान विभागले गाँजाले अर्थतन्त्र र राजस्वमा दिनसक्ने योगदान र वनस्पति विभागले बहुउपयोगी प्रयोगबारे गृह मन्त्रालयसँग प्रस्ताव प्रस्तुत गरेका थिए । तिनै आधारमा गृहले नियन्त्रित रूपमा यसको प्रयोग गर्न सकिने गरी कार्यविधि बनाउने भएको हो ।

उपत्यकाबाहिरका सल्यान, रुकुम, मकवानपुर, धादिङ, नुवाकोटलगायतका जिल्लाबाट समेत यसको अनुसन्धान गर्न पाउनुपर्ने माग आएको लागूऔषध नियन्त्रण शाखा प्रमुख गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो ।
२०२८ सालअघिसम्म नेपालमा गाँजाको उत्पादन र प्रयोग लाइसेन्समार्फत खुला गरिएको थियो ।

बढ्दै गाँजाको व्यापार

गाँजाको प्रयोग विश्वव्यापी रूपमा बढ्दो छ । विश्वका झन्डै ६० देशले यसलाई औषधिका रूपमा खुला गरेका छन् । २५ भन्दा बढी मुलुकले मनोरञ्जनका लागि र छ राष्ट्रले व्यापारिक प्रयोजनका लागि गाँजालाई पूर्ण रूपमा खुला गरेका छन् । यसलाई ‘कालो सुन’समेत भन्ने गरिएको छ ।

नेपालमा गाँजाको प्रयोग परम्परागत रूपमै हुँदै आएको छ । कतिपय घरपालुवा जनावर बिरामी हुँदा अहिले पनि गाँजा खुवाएर उपचार गरिन्छ । यसै आधारमा गृह मन्त्रालयले विभिन्न निकायसँग परामर्श गरेको थियो । नियन्त्रित रूपमा खुला गर्न सकिने सुझावपछि स्वीकृतिका लागि गृहले मन्त्रिपरिषद्मा प्रस्तावसमेत पेस गरेको जनाएको छ ।

सुरक्षा सतर्कता अपनाइने

गाँजाको प्रयोगले सुरक्षामा पर्नसक्ने प्रभावबारे विभिन्न कोणबाट समेत अध्ययन गरिएको गृह मन्त्रालयले जनाएको छ । नेपालका विभिन्न कारागारमा रहेका करिब २६ हजार कैदीमध्ये लागूऔषध प्रयोगकर्ता अधिक रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

तिनमा लागूऔषध प्रयोग गर्ने र कारोबार गर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा माथि छ । यस्तो अवस्थामा गाँजाको प्रयोग र उत्पादन लागूऔषध नियन्त्रणमा चुनौतीपूर्ण बन्नसक्ने भएकाले त्यसको नियन्त्रण गम्भीर हुनुपर्ने मन्त्रालयको निष्कर्ष छ ।