११ बैशाख २०८१, मंगलवार

पहिले एमसीसी पास गरौँ, गठबन्धनबारे पछि सोचौँलाः कांग्रेस

congress ccm meeting

सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अमेरिकी सहायता परियोजना अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्नुपर्नेमा नेताहरु एक देखिएका छन् ।

कांग्रेस मुख्यालय सानेपामा बैठकमा नेताहरुले एमसीसी पास गरेर जानुपर्ने धारणा राखेको पूर्वमहामन्त्री डा.शशांक कोइरालाले जानकारी दिए । उनले एमसीसीबारे कांग्रेस प्रष्ट रहेको पनि बताए ।

‘बैठकमा एमसीसी पास गर्नुपर्छ भन्ने कुरा नै आयो,’ उनले भने, ‘पाँचसय मिलियन डलर आएको छ । एमसीसीबारे कांग्रेसको धारणा पनि प्रष्ट छ,’ उनले भने, ‘एमसीसीबारे जनतामाझ भ्रम फैलाइयो । अब जनतामाझ गएर बुझाउनुपर्ने छ ।

एमसीसी नेपालको लागि राम्रो हो नेपालमा अमेरिकी सेना आउने होइन यो कुनै सैन्यरणनीतिसँग जोडिएको पनि होइन ।’ उनले आम जनताको माझ एमसीसीबारेको भ्रम चिर्ने गरी जानेबारे छलफल भएको बताए ।

त्यस्तै नेता डा.रामशरण महतले आजको बैठमा एमसीसीबारे लामो विषय प्रस्तुत गरेका थिए । उनले पनि एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको बताए । पहिले एमसीसी पास गर्ने र त्यसपछि मात्रै सत्तागठबन्धनबारे छलफल गरिने डा. कोइरालाको भनाइ छ ।

‘पहिले एमसीसीलाई संसदबाट पारित गर्नुपर्छ भन्ने भएको छ। त्यसपछि गठबन्धनबारे सोचौँला । एमसीसीलाई यसरी अल्झाइराख्ने पक्षमा कांग्रेस छैन,’ उनले भने, ‘अब पास गरेर जानुपर्छ। बैठकमा एमसीसी पास गरेपछि गठबन्धनबारे सोच्न सकिने कुरा भएको छ।’