१३ बैशाख २०८१, बिहीबार

केन्द्रीय समिति बैठक स्थानीय तह निर्वाचन केन्द्रित हुने

nepali congress party office

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने भएको छ ।

आज बसेको कांग्रेस पदाधिकारी बैठकले भोलि बोलाइएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको हो ।

स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर केन्द्रीय कार्य सम्पादन समितिको बैठकको एजेन्डा तय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बैठकमा कोभिडकाकारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने गरी आवश्यक निर्णय गर्ने एजेन्डा पनि राखिएको छ । प्रवक्ता महतले भातृ तथा शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिई गतिशील बनाउने विषयमा पनि सो बैठकमा छलफल हुने बताउनु भयो ।

नेपाली कांग्रेसको हिजो बसेको सभापति शेरबहादुर देउवाबाहेकको पदाधिकारी बैठकले नै केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित छलफल गर्ने निर्णय गरेको थियो । आजको बैठकमा त्यसबारे प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी सभापति देउवालाई जानकारी गराइएको पनि प्रवक्ता महतले बताउनुभयो ।