१३ जेष्ठ २०७९, शुक्रबार

अमरत्व प्राप्त गर्नुभएकी लता मंगेश्कर, मनबाट बिहे गर्ने सोच नै हट्यो

lata

स्वरकी धनी लता मंगेश्कर आफ्नो गायन क्षमताले अमरत्व प्राप्त गर्नुभएको छ । उहाँको आज भएको निधन पश्चात् स्रोतहरुले उहाँले गाएको गीत सुनेर श्रद्धाञ्जलि व्यक्त गरिरहनुभएको छ । उहाँको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेशको इन्दौरमा भएको थियो । उहाँका पिता पंंडित दीनानाथ मंगेशकर थिएटर कलाकार र गायक हुनुहुन्थ्यो ।

मध्यप्रदेशको इन्दौरमा एक मध्यमवर्गीय परिवारमा जन्मिनुभएकी लता मंगेशकर आज भारतकी सबैभन्दा धनी गायिका हुनुहुन्थ्यो । धेरैले उहाँलाई माता सरस्वतीको बरदानप्रप्त गायिका भनेर सम्बोधन गर्नेगरेका छन् ।

लतालाई बाल्यकालदेखि नै गाउने र सङ्गीतमा रुचि थियो । १३ वर्षको उमेरमा लताले १९४२ मा मराठी फिल्म ‘पहली मंगलागौर’ मा पहिलो पटक गीत गाउनुभएको थियो ।

सन् १९४७ मा फिल्म ‘आपकी सेवा’ मार्फत उहाँले हिन्दी फिल्ममा प्रवेश गर्नुभएको थियो । ८० वर्षको गायन करियरमा उहाँले हालसम्म ३६ भाषामा ५० हजारभन्दा बढी गीत गाइसक्नुभएको छ । सन् २०१५ मा लताले अन्तिम पटक निखिल कामतको फिल्म ‘डन्नो वाई २’ मा गीत गाउनुभएको थियो । त्यसबेलादेखि अहिलेसम्म उहाँ गायनबाट टाढा रहनुभएको थियो ।

पहिलो गीत गाउँदा २५ रुपियाँ
लताले पहिलो पटक स्टेजमा गीत गाउँदा २५ रुपियाँ पारिश्रमिक पाउनुभएको थियो । उहाँ यसलाई आफ्नो पहिलो कमाइ भनेर स्वीकार्नुभयो । उहाँले पहिलो पटक १९४२ मा मराठी फिल्म किट्टी हसलमा गीत गाउनुभएको हो । त्यतिबेला १३ वर्षीया लताले यो गीतका लागि २५ रुपियाँ पारिश्रमिक लिनुभएको थियो । आज उहाँ ३७० करोड सम्पत्तिको मालिक हुनुहुन्छ ।

लताका भाइ हृदयनाथ मंगेशकर र बहिनीहरू उषा मंगेशकर, मीना मंगेशकर र आशा भोसले सबैले सङ्गीतलाई आफ्नो करियरको रूपमा रोज्नुभएको छ । लताले हृदयनाथ मंगेशकरसँग केही मराठी गीत पनि गाउनुभएको छ, जसमध्ये सबैभन्दा चर्चित गीत कामापुरतममा फिल्ममा गाएको आशा निशा पुरा काढी थियो ।

महिनाको ४० लाख कमाइ
सीएनोलेज नामक वेब साइटअनुसार लताको हरेक महिना ४० लाख र वार्षिक ६ करोड कमाइ हुन्छ । उहाँको कमाइको मुख्य स्रोत उहाँको गीत नै हो । यसबाहेक उहाँले म्युजिक कन्सर्ट र म्युजिक एल्बमबाट पनि कमाइ गर्नुभएको छ ।

पहिलो ठूलो ब्रेक
सङ्गीतकार गुलाम हैदरले १८ वर्षीया लताको गायन प्रतिभा सुनेपछि उहाँलाई त्यस युगका सफल फिल्म निर्माता शशधर मुखर्जीसँग परिचय गराए । शशधरले यो आवाज एकदमै पातलो छ, काम नलाग्ने बताउनुभयो । त्यसपछि मास्टर गुलाम हैदरले लतालाई चलचित्र ‘मजबूर’ को ‘अङ्ग्रेजी छोरा चला गया’ गीतमा गायक मुकेशसँग गाउने मौका दिनुभएको थियो । यो लताको पहिलो ठूलो ब्रेक थियो, त्यसपछि उहाँलाई कामको कमी भएन । पछि शशधरले आफ्नो गल्ती स्वीकार गर्दै ‘अनारकली’, ‘जिद्दी’ जस्ता फिल्ममा लताका धेरै गीत गाउनुभएको छ ।

बिहे गर्नुभएन
लता मंगेशकरले जीवनमा बिहे गर्नुभएन । यसको जवाफ उहाँ आफैंले एक अन्तर्वार्तामा दिनुभएको थियो, ‘घरका सबै सदस्यको जिम्मेवारी मेरो काँधमा परेको थियो । जसका कारण पटक पटक बिहेको आइडिया आए पनि कार्यान्वयन गर्न सकिएन । मैले सानै उमेरमा काम गर्न थालें । मसँग धेरै काम थियो । सन् १९४२ मा तेह्र वर्षको उमेरमा बुबाको टाउको गुमेको हुनाले परिवारको सबै जिम्मेवारी ममाथि परेको कारणले मेरो मनबाट बिहे गर्ने सोच नै हट्यो,’ उहाँले भन्नुभएको थियो ।

फिल्ममा स–साना भूमिका
लता मंगेशकरका बुबा शास्त्रीय सङ्गीतका ठूलो फ्यान हुनुहुन्थ्यो । त्यसैले सायद उहाँ फिल्ममा लताविरुद्धमा हुनुहुन्थ्यो । सन् १९४२ मा उहाँका बुबाको मृत्युभयो । त्यसपछि उहाँको परिवारको आर्थिक अवस्था नाजुक भयो । लता मंगेशकरले मराठी र हिन्दी फिल्महरूमा सानो भूमिका खेल्न थाल्नुभयो । मास्टर विनायकले उहाँलाई र आशा भोस्लेलाई आफ्ना केही फिल्ममा अभिनयसँगै गीत गाउने मौका पनि दिनुभयो ।

नेपाली गीत
लताले धेरै नेपाली गीतमा पनि आफ्नो स्वर भर्नुभएको छ । उहाँले गाउनुभएकोे नेपाली गीतमा बाँचुन्जेललाई, आकाशमा तिरमिरे तारा, जुन माटोमा मैले जन्म लिएँजस्ता थुप्रै गीत उहाँले गाउनुभएको छ ।

लतालाई यी अवार्ड
फिल्मफेयर पुरस्कार (१९५८, १९६२, १९६५, १९६९, १९९३ र १९९४) बाट उहाँ सम्मानित हुनुभयो । राष्ट्रिय पुरस्कार (१९७२, १९७५ र १९९०) बाट पुरस्कृत हुनुभयो । त्यस्तै, महाराष्ट्र सरकार पुरस्कार (१९९६ र १९६७) मा प्राप्त गर्नुभयो ।

त्यस्तै, १९६९– पद्मभूषण, १९८९– दादासाहेब फाल्के पुरस्कार, १९९३ –फिल्मफेयर लाइफ टाइम अचिभमेन्ट अवार्ड, १९९६ – स्क्रिन लाइफटाइम अचीभमेन्ट अवार्ड, १९९७– राजीव गान्धी पुरस्कार, १९९९ – पद्म विभूषण, जी सिने का लाइफटाइम अचिभमेन्ट अवार्ड जित्नुभयो ।

सोहीअनुसार २०००– आईआईएएफ (आईफा) को लाइफटाइम अचिभमेन्ट अवार्ड, २००१ – स्टारडस्ट लाइफटाइम अचीभमेन्ट अवार्ड, नूर जहाँ अवार्ड, महाराष्ट्र भूषण अवार्ड, २००१– भारत रत्न पुरस्कारले पुरस्कृत हुनुभयो ।