१३ बैशाख २०८१, बिहीबार

गृहकार्य सुरु एमसीसी संसदमा पेस गर्न, सभामुखसँग कानुन मन्त्री बडूको छलफल

Agni Sapkota and Dilendra Prasad Badu

सभामुख अग्निप्रसाद सापकोटासँग कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलन्द्रप्रसाद बडूले एमसीसी सम्झौता संसद्मा पेस गर्नेबारे छलफल गरेका छन् ।

सभामुख सापकोटाको कार्यकक्ष सिंहदरबारमा पुगेर आइतबार मन्त्री बडूले एमसीसी प्रतिनिधिसभाको आगामी बैठकमा पेस गर्ने सरकारको तयारी रहेको जानकारी गराएका हुन् । सभामुख सापकोटाले भने संसद् बैठक सञ्चालन गर्नेबारे दलहरूले पहल लिनुपर्ने बताएका छन् ।

स्रोतका अनुसार सभामुख सापकोटाले मन्त्री बडूलाई ‘प्रधानमन्त्री र सत्ता गठबन्धनका दलहरूले संसद् सुचारु गर्न पहलकदमी लिइदिनुस् भन्ने सन्देश पु¥याइदिनुस्’ भनेका थिए ।

बडूले भने प्रधाानमन्त्री देउवाले एमसीसी पेस गर्नेबारे तयारी भइरहेको जानकारी सभामखुलाई दिएका थिए । सभामुख सापकोटाले एमालेको अवरोधबीच एमसीसीमात्रै पेस गर्न गाह्रो पर्ने बताएका थिए । महत्वपूर्ण विधेयक संसद्मा अड्किएका बेला एमसीसीमात्रै बजेटजसरी अगाडि बढाउन गाह्रो पर्ने सभामुखले मन्त्री बडूलाई भनेका थिए ।

प्रतिनिधिसभाको बैठक माघ २६ गते १ बजेका लागि बोलाइएको छ । सभामुख र मन्त्री बडूबीच करिब १ घण्टा छलफल भएको थियो । एमसीसीसहित संसद्का बिजनेसबारे सभामुखसँग मन्त्री बडूले छलफल गरेका थिए ।

संसद्को अवरोध जारी रहेका बेला एमसीसी वा अरु बिजनेस अगाडि बढाउन नसकिने सभामुखले बताएका थिए । संसद् सञ्चालन भएमा सबै विषयमा छलफल गर्न सकिने र बिजनेस अगाडि बढाउन सकिने सापकोटाले बताएका थिए ।

प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेता र अरु राजनीतिक दलहरूसँग पनि छलफल गरेर संसद् खुलाउने वातावरण बनाउन मन्त्री बडूलाई सभामुखले सन्देश पठाएको उनको सचिवालय स्रोतले जनाएको छ ।