१३ बैशाख २०८१, बिहीबार

सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइने, रेष्टुराँ र सिनेमा घर पनि खोल्न सिफारिस

ccmc1641552327

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली सोमबारबाट खारेज गर्न सिफारिस गरेको छ ।

सीसीएमसीको आइतवार बसेको बैठकले जोरबिजोर प्रणाली खारेज गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि सीसीएमसीको सिफारिसमा सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो । केही दिनअघि सरकारले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएको भएपनि निजी सवारी साधनमा भने हटाएको थिएन । आइतवार बसेको सीसीएमसीको बैठकले सबै सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली माघ २४ गतेबाट हटाउन गृहलाई सिफारिस गर्ने निर्णय गरेको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले बताउनुभयो ।

सीसीएमसीको बैठकले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरु फागुन १ गतेबाट भौतिक उपस्थितिमा सञ्चालन गर्न सिफारिस गरेको छ । १२ वर्षभन्दा मूनिका विद्यार्थीलाई भने स्वास्थ्य मापदण्ड अपनाएर आलोपालो गरी भौतिक उपस्थितिमा पढाउन सकिने सिफारिस गरेको प्रवक्ता नेपालले बताउनुभयो ।

यस्तै, आइतवारको बैठकले डान्सबार, दोहोरी, क्लब जस्ता रात्रीकालिन व्यवसाय, सिनेमा घर, व्यायाम सेन्टर, स्वीमिङ पुल, फुटसल जस्ता व्यवसाय फागुन १ गतेदेखि राती १० बजेसम्म सञ्चालन गर्न दिन गृह र पर्यटन मन्त्रालयलाई सिफारिस गरेको छ ।

सीसीएमसीले जिल्लाहरुले स्थानीय अवस्था हेरेर फरक फरक निर्णय गर्न पाउने व्यवस्था पनि गरेको छ ।

पार्टी प्यालेसहरुको हकमा बढीमा १०० जना वा क्षमताको ५० प्रतिशत मानिस उपस्थित हुनेगरी सञ्चालन गर्न दिन सरकारलाई सिफारस गरेको छ ।

खेलकुदका कार्यक्रममा ५० प्रतिशत दर्शकलाई मात्र प्रवेश दिनेगरी सञ्चालन गर्न सिफारिस गरिएको छ ।

सीसीएमसीले खोप कार्ड हराएकाहरुलाई खोप लगाउन सहज बनाउन पनि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ ।