२० बैशाख २०८१, बिहीबार

जसले आमा मरेको झुटो विवरण दिइ गाडी कुदाउने पास!, ३० यात्रु लिएर जाँदै थिए घर

fake pass arrested

आमाको काजकिरिया गर्न भन्दै सवारी पास लिएर यात्रु ओसारेको भन्दै चारजना पक्राउ परेका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेको छ । अत्यावश्यक अवस्थामा हिँड्नका लागि प्रशासनले सवारी अनुमति पास दिँदै आएको थियो ।

प्रहरी प्रभाग पुल्चोकको टोलीले सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्बर ६ महोलिया घर भएका शुभनारायण चौधरी, जितेन्द्र प्रसाद चौधरी  र नरेश चौधरीलाई नियन्त्रणमा लिएको हो।

पासको दुरुपयोग हुन थालेपछि गृह मन्त्रालयको निर्देशनमा पास वितरणमा कडाइ गरिएको छ । तर, प्रशासनको कडाइका बाबजुद पनि सर्वसाधारणको अटेरिपन छुटेको छैन । ललितपुरमा एक जना व्यक्तिले आफ्नो आमाको मृत्यु भएको झुटो विवरण पेश गरेर सवारी चालकको पास लिएका छन् ।

सप्तरीको सुरुङ्गा नगरपालिका–६, महोलिया घर भइ ललितपुर–३, पुल्चोक बस्ने शुभनारायण चौधरी दुई दिनअघि जिल्ला प्रशासन कार्यालय, ललितपुरमा सवारी पास बनाउन गए । अत्यावश्यक अवस्थामा मात्र पास वितरण हुने बुझेका उनले आफ्नै आमाको मृत्यु भएको झुटो विवरण प्रस्तुत गरे ।

प्रशासनबाट सवारी चलाउने अनुमति त उनले पाए, तर प्रहरीको नजरबाट भने बच्न सकेनन् । शुभनारायण चौधरीले आमाको मृत्यु भएकोले काजकृया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरबाट पास सोमबारदेखि लागू हुनेगरि एकदिनको लागि ३-०८-००५ ख ९१९८ नम्बरको भएको बसको पास लिएका थिए।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राई आमाको मृत्यु भएको भन्दै बस रिजर्भ गरेर ३० जनाभन्दा बढी जान लागेको विवरण दिनेवित्तिकै शंका भएको बताउँछन् ।

‘अनुसन्धानको सिलसिलामा हामीले घरमा दाजुको नम्बर, बुबाको नम्बर माग्नेवित्तिकै उनीहरुको बोल्ने शैली नै फेरियो’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राईले भने, ‘त्यसपछि उनीहरुको झुठ छिप्न सकेन ।’

प्रहरीले आमाको मृत्यु भएको झुटो विवरण दिने ४५ वर्षीय शुभनारायण चौधरीसहित ३० वर्षीय जितेन्द्रप्रसाद चौधरी र ४६ वर्षीय नरेश चौधरीलाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध अभद्र व्यवहारको कसूरमा कारबाही हुनसक्ने जनाइएको छ ।

सोमबार उनी ३० जना यात्रुहरु लिएर सप्तरी जना लाग्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधखोज गरेको थियो। प्रत्येक यात्रुबाट २ हजारका दरले रकम संकलन गरेको पनि प्रहरीले अनुसन्धानका क्रममा भेटेको छ । झुटो विवरण दिएर लकडाउन उल्लंघन गरेको अभियोगमा उनीहरुलाई कारवाही हुने राइले जानकारी दिएका छन् ।