२३ बैशाख २०८१, आईतवार

राजा छाडेर हिन्दुवादी दल गठन गर्ने तयारीमा कमल थापा

kamal
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापा राजा छाडेर हिन्दुवादी दल गठनको तयारीमा लागेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसंग असन्तुष्ट रहेका थापा नयाँ दल दर्ताको तयारीमा लागेका हुन् ।

उनले माघ १६ गते अध्यक्ष राजेन्द्र लिङ्देनलाई स्मरण पत्र पठाएका थिए । उनले गत मंसिर २७ गते पठाएको पत्रको सम्झना दिलाउँदै ध्यानाकर्षण पत्र प्रेषित गरेको पत्रको सुरुवातमै उल्लेख गरेका छन्।

‘मैले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने तथा त्यसबारे आवश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पुनः पठाएको छु,’ थापाद्वारा प्रेषित पत्रमा भनिएको छ, ‘फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुर्याउने तथा पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य तपाईंबाट हुने छैन भन्ने अपेक्षा गरेको छु।’

उनले पार्टीको हित र एकतालाई अक्षुण्ण राख्ने पवित्र उदेश्यका साथ उठाएका सैद्धान्तिक, राजनीतिक एवम् सांगठनिक विषयलाई सम्बोधन नगरेर अध्यक्ष लिङ्देनले मंसिर २७ को पत्र रद्दीको टोकरीमा फालेको पनि स्मरण पत्रमा लेखेका छन्।

स्मरण पत्रमा मंसिर २७ मा उल्लेख गरिएका मागहरु उपेक्षा गरेर आफूलाई भित्तामा नपुर्याउन र पार्टीलाई दुर्घटनातर्फ नधकेल्न अध्यक्ष लिङ्देनलाई चेतावनीपूर्ण भाषा प्रयोग गरेका छन्। थापाले पत्रमा प्रयोग गरेको चेतावनीपूर्ण भाषालाई हेरेर राप्रपा फुटको संघारमा पुगेको आकलन भइरहेको छ। थापापक्षीय नेताहरु पनि मंसिर २७ मा राखिएका माग माघ मसान्तसम्म सम्बोधन नभए पार्टीमा दुर्घटना उत्पन्न हुने प्रतिक्रिया दिइरहेका छन्।

‘हामी पार्टी विभाजनको दिशामा छैनौँ। तर, माग सम्बोधन नभए दुर्घटना उत्पन्न हुन सक्छ,’ थापापक्षीय केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने। थापानिकट अर्का एक नेताले माघ अन्तिमसम्म माग सम्बोधन नभए नयाँ पार्टी गठन गर्ने दाबी गरेका छन्। उनले राजसंस्था पुनर्स्थापनाको माग छाडेर पार्टी गठनका लागि सम्पूर्ण तयारी गरिएको जिकिर पनि गरे।