
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरुले गर्दा देश बिग्रिएको बताएका छन् । शुक्रवार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले नेताहरूको कुदृष्टिको कारण देश बिग्रिएको बताएका हुन् ।
मन्त्री आलेले आजको दिनसम्म मन्त्रालय अन्तर्गतको विभिन्न अनियमितताहरूको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको बताउँदै उनले तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले बतास समूहसँग सेटिङ गरी सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न निकायहरूमा बतास समूहसँग सम्बन्धित मान्छेहरूलाई राजनीतिक नियुक्ति दिलाएको समेत आरोप लगाए ।
‘पशुपतिमा धर्मशाला बनिसकेपछि त्यसको टेन्डर प्रक्रिया पनि पशुपति क्षेत्र विकास कोषको मिटिङ बसेर मिटिङले पास गरेपछि मात्र टेन्डर गर्न पाउने कुरा हो । परिषद्को मिटिङबाट त्यो पास पनि भएको छैन ।
हतार हतारमा टेन्डर निकालेर सेटिङमा त्यो पनि उहाँले लिनुभएछ’, उनले भने, ‘हेर्दाखेरी सबै प्रक्रिया गलत छ । उहाँ बतासकै पार्टनर रहेछन् डिमप्रसाद पौडेलजी । त्यही मान्छेलाई ल्याएर योगेश भट्टराईजीले के गर्नुभयो, निगमको एमडी बनाउनुभयो । बतासलाई यता धर्मशाला बुझाउनुभयो । यता ल्याएर निगमको एमडी बनाउनुभयो । बतास र धनन्जय रेग्मी पार्टनर ।
अनि उहाँलाई ल्याएर पर्यटन बोर्डको सिइओ बनाउनु भयो कस्तो सेटिङ हेर्नुस् । अनि कसरी बन्छ त हाम्रो देश ? सबभन्दा बढी यसको गल्ती भनेको म आफैँलाई भन्छु ।’
मन्त्रीहरुले राजनीतिक नियुक्ति दिलाउनको लागि बार्गेनिङ गर्ने गरेको देखेको मन्त्री ओलेको भनाई छ । मन्त्रीसँग आर्थिक बार्गेनिङ गरेर नियुक्त भएको मान्छेले काम नगर्ने र पैसा कमाउने मात्रै उद्देश्य राख्ने पनि उनले बताए ।
‘कतै चहिच्किचाएर म भन्न चाहान्छु, मन्त्रीहरू कतिपय मैले के देखेको छु भन्दाखेरी कुनै राम्रो लाभको पदमा पठाउनुपर्यो भने पहिल्यै बार्गेनिङ हुँदोरैछ त्यहाँ । अनि बार्गेनिङ भइसकेपछि उसले किन काम गर्छ त ?’