१६ चैत्र २०८०, शुक्रबार

घम्साघम्सी पशुपति विकास कोष र बतास समूहबीच धर्मशालाको विषयलाई लिएर, खाली गर्न बतासको अटेरी

aananda

पशुपति विकास कोष र बतास समूहबीच पशुपतिस्थित धर्मशालाको विषयलाई लिएर घम्साघम्सी परेको छ। विकास कोषले धर्मशाला खाली गर्न दिएको निर्देशन बतास समूहले अटेर गरेको भन्दै कोषका पदाधिकारीले भवन खाली गराउन खोज्दा दुई पक्षबीच शुक्रवार बिहानैदेखि भएको असमझदारीले सञ्चारकर्मी समेत थुनिन पुगेका थिए ।

पशुपति क्षेत्र स्थित धर्मशालामा व्यापारी बतास समूहले सञ्चालन गरेको होटलको विषयलाई लिएर उक्त क्षेत्र शुक्रवार बिहानैदेखि तनावग्रस्त बन्न पुग्यो । सरकारले यसअघिनै धर्मशाला नियम विपरित सञ्चालन भएको भन्दै खाली गराउन बतास समूहलाई निर्देशन दिएको थियो । तर बतास समूहले खाली गर्न अटेर गर्दै गेटमा ताल्चा लगायो ।

125226207277593404 5663799886967524 4023659763304329617 n

कोषका पदाधिकारी होटल परिसर निरीक्षण गर्न जाने क्रममा बतास समूहले शुक्रबार धर्मशालाको गेटको ताल्चा नखोलेपछि कोषले पनि गेटमै अर्को ताल्चा लगायो । त्यही दौरान समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरु समेत थुनिन पुगेका थिए ।

शुक्रवार पशुपति विकास कोषका पदाधिकारी धर्मशालामा रहेका सरकारी स्वामित्वमा रहेका सरसामान कस्तो अवस्थामा छन् भनेर निरीक्षण गर्न पुगेका थिए । तर करिब २ घण्टाको घम्साघम्सीपछि पनि होटल पुगेकाे सरकारी टोलीलाई भित्र छिर्न नदिएपछि कोषले पनि होटलमा अर्काे ताला लगाएको छ । साथै कोषले गेटमै सूचना टाँसेर होटलमा सामग्री नचलाउन समेत सूचित गरेको छ ।

उता बतास समूहका प्रतिनिधि (हाेटेलका व्यवस्थापा) जेपी पाेखरेल होटल सञ्चालन र सम्झौताको विषय कानूनी प्रकृयामा रहेको र सर्वोच्चको अन्तिम फैसला आउनु अगावै सरकारी टोली तालाबन्दी गर्न आएकाले गेट नखोलेको बताउँछन् ।

दुई पक्षको विवादले गरिखाने आफू जस्ता कर्मचारीहरु अलपत्र पर्ने अवस्था आएको बतास समूहले सञ्चालन गरेको होटलमा कार्यरत कर्मचारीहरूले दुखेसाे गरेका छन् ।

125307363275534196 635340217895957 4742128193362851827 n

यसअघि गत साताको बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित कोषका पदाधिकारी धर्मशालामा तालाबन्दी गर्न पुगेका थिए । तर, तालाबन्दी भने गरिएको थिएन ।

गैरकानूनी ढंगले धर्मशालामा होटल चलाइरहेको बतास समूहलाई जसरी पनि हटाउने सरकारको तयारी छ तर बतास समूह भने आलटाल गरिरहेको छ, यसले धर्मशालामा रहेका तिर्थालु पर्यटक समेत प्रभावित बन्न पुगेका छन् ।