६ बैशाख २०८१, बिहीबार

(फोटो फिचर) पुनः भारी हिमपात कर्णालीमा, कृषि क्षेत्रलाई राहत

Himpat 1 e1643972514497

कर्णालीमा पुनः वर्षा सहित भारी हिमपात भएको छ । बिहीबार बिहानदेखि मौसम खराबी भई साँझबाट कर्णाली प्रदेशका विभिन्न जिल्लामा भारी हिमपात भइरहेको छ । कर्णालीका हिमाली जिल्ला जुम्ला, मुगु, डोल्पा, हुम्ला र कालिकोटमा बाक्लो हिउँ पर्दा हवाई र सडक यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ ।

वर्षा र हिमपातले गर्दा कर्णाली राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । नाग्म–गमगडी सडक खण्डको बुलबुलेमा ठुलो पहिरो आउँदा आवतजावत पूर्ण बन्द भएको सडक डिभिजन जुम्लाले जनाएको छ ।

बुलेबुलेमा बाक्लो हिउँ जमेको हिमपात जारी रहेकोले तत्काल पहिरो पन्छाउने स्थिति नरहेको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारीले बताउनुभयो । उहाँका अनुसार कालिकोटका पिलिमा सडक खुलाउन कार्यालयको मेसिन पठाइएको छ ।

हिमपात रोकिएपछि सडक सुचारु गर्नका लागि सडक डिभिजन कार्यालय जुम्लाले आवश्यक जनशक्ति सहित मेसिन तयारी अवस्थामा राखेको छ ।

त्यस्तै साबिक कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पा विमानस्थलको धावनमार्गमा बाक्लो हिउँ जमेपछि हवाई सेवा अवरुद्ध भएको छ । जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीका अनुसार नेपालगन्जबाट मौसम खराबीले उडान नभएको र जुम्लामा बाक्लो हिउँ परेको धावन मार्गको हिउँ नपन्छाए सम्म हवाई सेवा सुचारु हुने स्थिति छैन ।

हुम्लामा झन्डै ३ फिट भन्दा बढी हिउँ जमेपछि जनजीवन कष्टकर भएको सञ्चारकर्मी दाने बोहोराले बताउनुभयो । उहाँका अनुसार हुम्लामा हिमपात जारी रहेकोले आवतजावतमा पनि समस्या रहेको छ ।

कृषि क्षेत्रलाई राहत, किसान उत्साहित

कर्णालीमा तेस्रो पटक भएको भारी हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातसँगै बढेको अत्यधिक चिसोले गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र दिर्घरोगीको दैनिकी कष्टकर बनेको छ । भने, अन्तरपालिका र अन्तर जिल्ला आवतजावतमा समेत समस्या भएको छ । तर माघ अन्तिममा परेको हिउँले कृषि क्षेत्रलाई ठुलो राहत पुर्‍याउने भएपछि किसान निकै उत्साहित भएका छन् ।

पातारासीका स्याउ किसान तारा बहादुर बोहोरा भन्छन्,“माघ अन्तिममा परेको हिउँले कर्णालीको हिउँदे बालीलाई निकै राहत गर्छ । भने स्याउ बगैँचा व्यवस्थापन, सिँचाइमा समेत सहयोग पुग्छ । बिरुवा काँटछाँट र हिउँ सङ्कलन पोखरी बनाउने, हिउँका डल्ला बनाएर स्याउका खाल्डोमा हाल्ने काम शुरु हुन्छ । सिचाई पहुँच नभएको ठाउँमा हिउँले राहत पुर्‍याउँछ ।”

माघ अन्तिम साता परेको हिउँले कृषि उत्पादन बढाउने, भोकमरी नहुने पनि विश्वास गरिन्छ । विशेष गरी अहिलेको हिउँले स्याउ बगैँचा व्यवस्थापनमा टेवा पुर्‍याउँछ । हाल जुम्लाका झन्डै १७ हजार बढी घरधुरी स्याउ खेतीमा निर्भर रहेका छन् ।

उता कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारी अहिले परेको हिउँलाई सङ्कलन गरी हिउँ पोखरी बनाएमा सिँचाईका लागि टेवा पुग्ने बताउनु हुन्छ । विभिन्न गाउँमा हिउँ सङ्कलन पोखरी निर्माण भएकोले हिउँ जम्मा गरी स्याउ बगैँचा, तरकारी बारीमा सिँचाई गर्न सकिने उहाँको भनाई छ ।

हिउँ सङ्कलन पोखरी नभएका किसानले भर्खर रोपेका स्याउको बिरुवा वरिपरि खाडल बनाएर हिउँ जम्मा गरिदिएपछि महिनौँ दिन सम्म सिँचाई गर्नु नपर्ने समेत प्रमुख अधिकारीले जानकारी दिनुभयो । यति बेलाको हिउँलाई सदुपयोग गर्न सके हिउँदे बाली र स्याउ उत्पादन वृद्धिमा टेवा पुग्ने देखिन्छ ।

Himpat 1 e1643972514497
Himpat 2 1
Himpat 3
humla 2 768x432 1
humla 768x432 1
IMG 4874
IMG 4888