१३ बैशाख २०८१, बिहीबार

उपत्यकासहित देशैभर वर्षा, आइतबारदेखि मौसममा सुधार हुँदै जाने

mausam weather

विहीवारदेखि सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीका कारण शुक्रवार काठमाडौं उपत्यकासहित देशैभर वर्षा भइरहेको छ ।

पश्चिमी जिल्लाहरूमा हिजो बेलुकाबाटै पानी पर्न शुरु गरेको हो । आज तराई र पहाडमा वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको आँकलन गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणाली बुधबार रातिदेखि नेपाल प्रवेश गरेको हो । भोली यस प्रणाली पूर्वी नेपालतर्फ सर्दै जाने अनुमान छ ।

आइतबारदेखि भने मौसममा सुधार हुँदै जाने महाशाखाको अनुमान छ । वर्षासँगै चिसिएको मौसमले काठमाण्डौ उपत्यकाका उच्च डाँडाहरुसहित देशभरका अधिकांश उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ ।

काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी, शिवपुरीसहित हुम्ला, सोलुखुम्बु, बझाङ, बाजुरा, बैतडी, डोटी, दार्चुला लगायत जिल्लाका उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको हो । सडकमा बाक्लो हिउँ जमेका कारण विभिन्न लोकमार्गमा गाडी समेत चल्न सकेका छैनन् ।